नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

एकिकरणबाट नेकपा हैन, माओवादी एमालेमा विलय भएको हाे : महासचिव मोहन वैद्य

विवेश श्रेष्ठ, जेठ ५ ओखलढुङ्गा । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरणले’ अबको नयाँ क्रान्तिको नेतृत्व आफूहरुले मात्र गर्न सक्ने बताउनुभएको छ । प्रदेश नं. १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा सहभागी हुन शुक्रबार ओखलढुङ्गा आईपुग्नुभएका महासचिव बैद्यले यस्तो बताउनु भएको हो ।

नेकपा (क्रान्तिकारी माओवादी), जिल्ला समिति ओखलढुङ्गाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव बैद्यले माओवादी केन्द्र र एमाले बीचको एकिकरणबाट नेकपा बनेको नभइ माओवादीको एमालेमा विलय मात्र भएको उहाँको भनाइ छ । बैद्यले भन्नुभयो, ‘हिजो जुन सत्ता, धार र व्यबस्थाका विरुद्धमा १० वर्षसम्म सशस्त्र द्वन्द्वमा होमीएको पार्टी आज फेरी त्यसैलाई संरक्षण र सुदृढ गर्न लागि परेको छ । त्यसले नेपाली आम जनतालाई सफलता हैन धोका दिएको छ । नेपालमा क्रान्तिको अझै आवश्यकता छ । त्यसको नेतृत्व अब क्रान्तिकारी माओवादीले गर्छ ।’

महासचिब वैद्यले भन्नुभयो, ‘बालकृष्ण ढुङ्गेल जस्ता जनयुद्धका योद्धाहरु जेल परिरहेका छन् । हिजो सगै युद्ध लड्ने साथि जेलको कोठरीमा कोचिएर रहेका छन् । सगैका साथि प्रधानमन्त्री पनि भए, सभामुख पनि भए । सत्तामा त पटक पटक पुगेकै छन् । यसले गर्दा पनि क्रान्ति सम्पन्नको नाममा अबसरवादीहरु हावी भएको र वास्तविक गणतन्त्र बास्तविक जनताको हातमा आई नसकेको प्रष्ट हुन्छ ।’

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिब बैद्यले नेपालमा संसोधानवादी/अवसरवादी धारको एकिकरण भएकाले अव क्रान्तिकारी कम्युनिष्टहरुको धुव्रीकरणमा नयाँ जनवादी धारको विकास गर्दै जनवादीक्रान्तिमा जाने आफुहरुकोे कार्यदिशा रहेको प्रष्ट पार्नुभयो ।

नेपालमा क्रान्तिको माध्यमबाट अझै पनि रुपान्तरण भै नसकेकोले गर्दा रुपान्तरणका लागि फेरी नयाँ जनवादी क्रान्तिको आवश्यकता रहेको भन्दै जनवादी क्रान्तिको सुरुवातका लागि आफुहरुले अभियान चलाउने निर्णय गरिएको पनि उहाँले वताउनुभयो । नयाँ जनवादी क्रान्तिका माध्यमबाट मुलुकमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने बाटोमा अघि बढ्न दक्षिणपन्थी अवसरवादको विरुद्धमा संघर्ष गर्ने उहाँले बताउनुभयो । यसका लागि विप्लव र मोहनविक्रम सिंहसँग एकताका लागि छलफल भइरहेको क्रान्तिकारी माओावदीले जनाएको छ ।

संगठन सुदृढिकरण र जनपरिचालन अभियान अन्र्तगत प्रदेश स्तरीय प्रशिक्षणका लागि महासचिव वैघ, नेता सिपी गजुरेल, राम आचार्य सहित एक दर्जन पोलिटब्यूरो र केन्द्रिय सदस्यहरु ओखलढुङ्गा आईपुगेका आएका छन् । शनिवारसम्म चल्ने प्रशिक्षणमा प्रदेश नं. १ का झण्डै १ सय जना सहभागी हुने जिल्ला सेक्रेटरी पर्वतले बताउनुभयो ।