नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

ओखलढुङ्गामा भूकम्प पिडितहरुको गुनासो सम्बोधनमा गैससले सहयोग गर्ने

ओखलढुङ्गान्युज, जेठ ४ ओखलढुङ्गा ।  भूकम्प पछिको पुननिर्माणका क्रममा ओखलढुङ्गाका सेवाग्राही पिडित नागरिकहरुलाई गैससहरुले थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गैसस महासंघ ओखलढुङ्गाको सहकार्यमा सोच नेपालले विहिबार ओखलढुङ्गामा आयोजना गरेको सरोकारवालहरुको बैठक तथा छलफलका क्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

भूकम्प गएका १४ जिल्ला मध्ये पुननिर्माणको कार्यमा ओखलढुङ्गा पहिलो नम्बरमा रहेको कुरा केहीदिन अघि मात्रै सार्वजनिक भएको थियो । ओखलढुङ्गा जिल्ला पहिलो स्थानमा रहेको सार्वजनिक भएपनि जिल्लाका नागरिकहरुले अझै आफुहरुले राम्रो सेवा नपाएको गुनासो गरेका थिए ।

जिल्लाका सेवा प्रदायक सरकारी निकाय र गाउँमा निरन्तर खटिएका कर्मचारीको सेवा प्रबाह तिब्र गतिमा भै रहेको भएपनि ओखलढुङ्गाका कतिपय लाभग्राहीहरुले पहिलो किस्ता रकम नै नपाएको गुनासो गरेका थिए । त्यस्तै नेपाल सरकारवाट भूकम्प लाभग्राहीको नाममा प्रदान हुने दोश्रो तथा तेश्रो किस्ता वापतको रकम प्राप्त गर्न झण्झटिलो तथा ढिलो भएको गुनासो पनि गरेका थिए ।

नागरिकका गुनासोहरु आउनु स्वभाविक भएको भन्दै पूननिर्माण प्राधिकरण ओखलढुङ्गाका सामाजिक विकास विज्ञ सुनिता अधिकारीले कार्यालयको तर्फवाट हदैसम्मको लचकता अपनाएर नागरिकको काम गरिएको बताउनुभयो । केही प्राबिधिक त्रुटीहरु देखिएको भन्दै केही समस्या जिल्लामा नै समाधान गर्न सकिने र केही जिल्लाले समाधान गर्न नसकिने खालका समस्या समेत सृजना भएको भन्दै त्यसका लागि पनि पहल भैरहेको उहाँले बताउनुभयो ।


अधिकारीले भन्नुभयो, ‘केही समस्याहरु सामान्य हुन्छन् र थोरै मेहनतले पनि हल गर्न सकिन्छ । तर प्रकृयाको बारेमा ज्ञान नहुदा सेवाग्राही नागरिकहरुले दुख पाएका पनि छन् । फिल्डमा काम गरिरहनु भएका गैरसरकारी संस्थाका साथिहरुले पनि ति सामान्य विषयका बारेमा नागरिकलाई बुझाईदिने हो भने नागरिकले दुख पाउदैनन । त्यस तर्फपनि स्थानीय तहमा कार्यरत रहेका गैससहरुले ध्यान दिनुप¥यो ।’

स्थानीय तहको संरचनामा जिल्लाका सरकारी कार्यालयहरु गैसकेपछि पनि कृषकहरुले दुख पाईरहेको भन्दै फिल्डमा कृषिको क्षेत्रमा काम गैससहरुले एकद्वार प्रणाली मार्फत काम गर्नुपर्नेमा कृषक समूह महासंघ ओखलढुङ्गाका अध्यक्ष हितराज कार्कीले जोड दिनुभयो । घरघरमा, टोलटोलमा कृषक समूहहरु रहदा जिल्लावाट जाने गैससले कसरी काम गर्ने भन्ने समस्या रह्यो । अब गाउँपालिकाका सबै वडाहरुमा आवश्यकता अनुसार गाउँपालिकाको कृषक समूह निर्माणका लागि गैससहरुले सहजीकरण गर्नुपर्ने पनि अध्यक्ष कार्कीले बताउनुभयो ।

आफुहरुले विशेष गरि कृषि क्षेत्रमा नै काम गर्ने भएकोले पछिल्लो समयमा काम गरिएका स्थानीय तहका वडाहरुमा समूहको निर्माण गर्दा पनि सबैलाई समेट्ने गरि कृषक समूह बनाएको साहास नेपालका नवराज धमलाले बताउनुभयो । आफुहरुले सबैलाई सहज होस भनेर सबैलाई समेटिने गरि एउटै नामको समूह निर्माण गरेका छौं । त्यही क्षेत्रमा ति सगै सम्बन्धित विषय लिएर स्थानीय नागरिकहरुलाई सेवा प्रवाह गर्ने गैससले त्यही समूहलाई प्रयोग गर्दा नागरिकहरुको समयको पनि बचत हुने र सेवा प्रवाह पनि गुणस्तरिय हुने पनि धमलाले बताउनुभयो ।

सयपत्री संस्थाका निर्देशक मित्र बहादुर राई तथा कोशिस नेपालका हेम कुमार घिमिरेले गैससहरुले जेष्ठ नागरिहरुलाई लक्षित गरेर कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभएको थियो । जेष्ठ नागरिकहरु भनेको भावि पिढिको मार्गदर्शक श्रोत समेत भएको बताउदै उहाँहरुको संरक्षरण सम्मान भए विकास निर्माण लगायतका हरेक क्षेत्रमा अघि बढ्न सहज हुने बताउनुभएको थियो ।

छलफलमा उठेका विषयहरुबारेमा सहभागी सबै प्रतिनिधीहरुले ऐक्यबद्धता जनाउदै आफ्नो योजना तथा कार्यक्रम सगै यी विषयमा पनि कार्यक्रम सञ्चालनमा आवश्यक निति तथा कार्यक्रम निर्माण गर्न स्थानीय तहसँग सहजिकरण र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, नागरिकहरुले पाउनुपर्ने सेवाका बारेमा र गैससहरुले गरेका कृयाकलापको बारेमा सूचना प्रचार प्रसारका कुराहरु मार्फत सञ्चार माध्यमका तर्फवाट सक्ने आवश्यक सहयोग गर्ने पनि उपस्थित सञ्चारकर्मीहरुले प्रतिबद्धता जनाएका थिए ।

गैसस महासंघ ओखलढुङ्गाका अध्यक्ष सचना श्रेष्ठले जिल्लामा कार्यरत सबै गैससहरुले कृषि, शिक्षा, स्वास्थ्य, विपद, जेष्ठ नागरिक, बालबालिका जस्ता विषयको क्षेत्रमा काम गर्दा आवश्यक निति नियम बनाउन र गाउँपालिकालाई आवश्यक पर्दा संस्थाले गर्न सक्ने सहजिकरणका साथ सहयोग समेत गर्ने सबै गैसस महासंघको तर्फवाट प्रतिबद्धता जनाउदै छलफल आयोजना गर्ने सोच नेपाललाई धन्यवाद दिनुभयो ।

सोच नेपालले ओखलढुङ्गाको मोलुङ गाउँपालिका, चिशंखुगढी गाउँपालिका र सिद्धिचरण नगरपालिकामा पनि पारस्परिक जवाफदेहिता सम्बन्धि आफ्नो कार्यक्रमहरु गर्दै आएको छ । पारस्परिक जवाफदेहीता कार्यक्रम अन्तर्गत सोच नेपालले ओखलढुङ्गामा सेवाप्रदायक सरकारी संस्था, नागरिक समाज संघसंस्था र सञ्चार माध्यमहरुसग मिलेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।