नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

एक तिहाइ सदस्यद्वारा चम्पादेवीमा गाउँपालिकाको विशेष बैठक बोलाउन माग

ओखलढुङ्गान्युज, जेठ ३ चम्पादेवी । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका निर्वाचित एकतिहाई सदस्यहरुले गाउँपालिकाको विशेष बैठक बोलाउन माग गरेका छन् । वाम गठबन्धन पक्षधर सदस्यहरुलार्ई थाहै नदिइ गाउँसभा सम्पन्न गरेको भन्दै विशेष बैठकको माग गरिएको छ ।

गाउँ कार्यपालिकाका चार जना सदस्यसहित गाउँसभाका २० जना सदस्यहरुले विशेष गाउँ सभा बोलाउन माग गरेका छन् । वाम गठबन्धनमा आबद्ध जनप्रतिनिधीहरु सुरेश थापासहितका चार जना वडा अध्यक्ष र अन्य गाउँ सभाका सदस्यहरुले संयुक्त रुपमा बिशेष बैठक डाक्न माग गरेर लिखित निवेदन दर्ता गरेका छन् ।

चम्पादेवी गाउँपालिकामा नेपाली काँग्रेसको बहुमत रहेको छ । उक्त गाउँपालिकामा बैशाख २९ गते गाउँसभाको बैठक सम्पन्न भएको थियो । गाउँपालिकाको सम्पन्न गाउँसभामा नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाट निर्वाचित जनप्रतिनिधीहरु उपस्थित थिएनन् । एमाले र माओवादीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई अघिल्लो दिन मात्रै सुचना दिएर अचानक सभा आयोजना गरेकाले सभामा सहभागि हुन नसकेको एमालेका जिल्ला अध्यक्ष नेत्र भट्टराईले बताउनुभयो ।

गाउँसभा बैठक वस्ने सूचना एक हप्ता अगाडी दिनुपर्ने कानूनी व्यवस्था भए पनि सुचना समेत नदिइ गाउँसभा सम्पन्न गरेकाले विशेष गाउँसभाको बैठक माग गरिएको कार्यपालिका सदस्य थापाले जानकारी दिनुभयो । स्थानीय शासन सञ्चालन ऐन ०७४ को दफा १९ को उपदफा ४ मा गाउँसभा बैठक बस्ने सात दिन अगावै सुचना गर्नुपर्ने कानूनी ब्यबस्था छ ।

ऐनको दफा १९ को उपदफा ३ मा विशेष गाउँसभा बोलाउने सम्बन्धी व्यवस्था छ । ऐन अनुसार गाउँसभाका एक तिहाइ सदस्यहरुले गाउँ सभा बोलाउनु पर्ने कारण खोलेर माग गरेमा बैठक बोलाउनु पर्ने व्यवस्था छ । सोही व्यबस्थालाई टेकेर दिईएको निवेदन कार्यपालिकामा २३७ दर्ता नम्बरमा बुधबार प्रमुख प्रशासकीय अधिकृतले दर्ता गरेका छन् ।

गाउँ सभाका सदस्यहरुलाई जानकारी नदिइ गाउँ सभा गरेको विषयमा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले आफुले अध्यक्षको आदेश अनुसार काम गरेको बताउनुभयो । उहाँले दुई दिन अघि भएको बैठकमा सबै सदस्यहरुलाई गाउँ सभा हुने जानकारी गराइएको बताउँदै अध्यक्षको निर्णय अनुसार गाउँ सभा पुनः बोलाउने वा नबोलाउने टुंगो लाग्ने पनि बताउनुभयो ।

ऐनमा व्यवस्था भए अनुसार गाउँ सभाको सुचना सदस्यहरुलाई नदिइएको, गाउँपालिकाले गरेका काम कारवाहीबारे सार्वजनिक सुनुवाइ नगरेको, सार्वजनिक खरिद ऐन विपरित खरिद कार्य गरेको र गाउँपालिका बिरुद्ध अख्तियारमा परेका उजुरीका सम्बन्धमा सदस्यहरुलाई जानकारी नगराइएकाले विशेष गाउँ सभा बोलाउनु परेको निवेदनमा उल्लेख छ ।