नेपाली समय Loading...२०८१ बैशाख ५ बुधबार

विदाका दिनको पनि हाजिरी प्रमाणित ! त्रुटी कि नियत ?

ओखलढुङ्गान्युज, जेठ २ कुन्तादेवी । ओखलढुङ्गाका एक जनप्रतिनिधीले वडामा कार्यरत कर्मचारीको विदाको दिनको पनि हाजिरी प्रमाणित गरेका छन् । मोलुङ गाउँपालिका वडा १ का वडा अध्यक्ष प्रदिप बानियाले एक इञ्जिनियर र तीन जना प्राविधिकको हाजिरी बैशाख १७ र १८ गते पनि हाजिरी गरेको प्रमाणित गरेका छन् । बैशाख महिनाको हाजिरीमा बैशाख १७ गते बुद्ध जयन्ती र १८ गते मजदुर दिवसका दिन सरकारले सार्वजनिक विदा दिएको थियो ।

कार्यालयमा काम गरेको दिनमा त हाजिरी गरेर प्रमाणित हुनु स्वाभाविक हो । तर, सार्वजनिक विदाका दिनमा पनि काम गरेको भन्दै हाजिरी प्रमाणित गर्नु तथा गराउनु गैर कानुनी काम हो । तर, ओखलढुंगाका सरकारी कर्मचारीको हाजिरी सार्वजनिक विदाका दिन पनि प्रमाणित हुने गरेको पाइएको छ ।

ईञ्जिनियर करण दासले पेश गरेको तीन प्राविधिक सहितको हाजिरी विवरण अध्यक्ष बानियाले प्रमाणित गरेका हुन् । पुनः निर्माणका प्राविधिकहरुको हाजिरी वडाले प्रमाणित गरेपछि मात्रै तलव खुवाउने प्रावधान रहेको छ । सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको हाजिरीमा ईञ्जिनियर करण दासको हाजिरी प्रमाणित वडा अध्यक्षले गरेपनि पेश गर्नेको हस्ताक्षर भने छैन । केही जानकारहरुले भने कर्मचारीहरुले जानीजानी निर्वाचित जनप्रतिनिधीको बेइज्जत गरेको बताएका छन् ।

विदाका दिनको समेत हाजिरी प्रमाणित गरेको विषयमा प्रश्न गर्दा वडा अध्यक्ष बानियाले कर्मचारीले पेश गरेको विवरणमा विश्वास गरेर हस्ताक्षर गरेको बताउनुभयो । उहाँले प्राविधिक हिसावले भएको त्रुटी सच्याउने बताउनुभयो । विश्वासका आधारमा गरेको यो हाजिरी प्रमाणितको कुराले कर्मचारीहरुले कतिसम्म फटाई गर्छन् भनेर आफुलाई पाठ सिकाएको पनि उहाँले बताउनुभयो ।

मोलुङ्ग गाउँपालिका वडा नं. १ मा कार्यरत राष्ट्रिय पुनः निर्माण प्राधिकरणबाट खटिएका प्राविधिक र इञ्जिनियरहरुको हाजिरी सार्वजनिक विदाको दिनको पनि प्रमाणित भएको हो । जिल्लाको निर्वाचित युवा जनप्रतिनिधीले त यसरी कर्मचारीको हाजिर नै राम्रोसग नहेरी प्रमाणित गर्छन भने अलिक उमेर पाको भएका जनप्रतिनिधीको अबस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ । यो घटना जिल्लाको एक नमूना घटना मात्रै हो । यस बारेमा सबै जनप्रतिनिधी सजग हुनु जरुरी छ ।