नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

विद्युत् आपूर्ति बन्द हुँदा ओखलढुङ्गावासीको जनजीवन कष्टकर

विवेश श्रेष्ठ, बैशाख २७ ओखलढुङ्गा ।
केही दिन देखी विद्युत आपुर्तीमा समस्या हुदा ओखलढुङ्गाको सदरमुकाम ओखलढुङ्गा आसपासको जनजीवन कष्टकर बनेको छ । बैशाख २५ देखि ओखलढुङ्गा सदरमुकाम लगायतका क्षेत्रहरुमा आएको हावा हुरी सगै वन्द भएको विद्युत आपुर्ती सञ्चालन नहुँदा जिल्ला सदरमुकाम लगायतका क्षेत्रको जनजिवन कष्टकर बनेको हो ।

गत मंगलबार राति आएको हावाहुरीका कारण गाईघाट–बुईपा ३३ केभी प्रसारण लाईनमा फल्ट देखाउदा विद्युत प्रसारणमा समस्या भएको नेपाल विद्युत प्राधिकरण, ओखलढुङ्गा प्रशाखाका ईञ्चार्ज चम्मर प्रसाद शाहले जानकारी दिए । शाहका अनुसार गाईघाट–बुईपा केन्द्रिय प्रसारण लाईनमा फल्ट देखाएको छ । ओखलढुङ्गाका कुनै पनि क्षेत्रमा समस्या देखिएको छैन । केन्द्रिय प्रसारण लाईनको केही अन्य क्षेत्रमा समेत प्राबिधीक समस्या देखिएको पनि शाहले बताए ।

ओखलढुङ्गा जिल्ला कै मात्र ठूलो र केन्द्रिय प्रसारण लाईन सग जोडिएको मोलुङ हाईड्रो पावरवाट उत्पादन हुने वत्ती ओखलढुङ्गामा मात्रै खपत नहुने भएकोले मोलुङ हाईड्रोको बत्ती पनि नछाडिएको उनले बताए । ‘मोलुङ हाईड्रोवाट ७ किलोवाट क्षमताको बत्ती उत्पादन हुन्छ, तर ओखलढुङ्गामा १ देखी १ दशमलव ५ मेगावाट विद्युत मात्रै खपत हुने गरेको छ । उत्पादन अनुसार खपत नभएपछि मेशिनमा समस्या आउने भएकोले मोलुङ हाईड्रोको विद्युत उत्पादन पनि रोकेका छौ । त्यसैले जिल्लामा अहिले विद्युतको समस्या छ । तर केही दिनमा नै विद्युत प्रसारण नियमित गर्ने प्रयास जारी छ,’ ओखलढुङ्गा प्रशाखा ईञ्चार्ज शाहले भने ।

विद्युत आपूर्तीमा समस्या हुदा जिल्लामा रहेको बैंकिङ सेवाहरु पनि प्रभावित भएको छ । विद्युतका कारण बैंकको सेवामा समस्याहुदा जिल्लाका दुर्गम स्थलदेखी भूकम्पको राहत लिन आएका सेवाग्राहीहरु मारमा परेका छन् । विद्युत कै कारण जिल्लामा सञ्चालनमा रहेका एफएमहरु पनि प्रत्यक्ष मारमा परेका छन् । जिल्लामा सञ्चालनमा रहेका रेडियोहरुले नियमित कार्यक्रम समेत सञ्चालन गर्न सकेका छैनन् ।

एफएम रेडियोहरुको नियमित प्रसारणमा समस्या हुदा नागरिकहरु सुचना र सम्पर्कवाट बञ्चित भएका छन् । जिल्लाको सञ्चार माध्यम नेपाल टेलिकमको सेवा प्रवाहमा समेत समस्या सुरु भएको छ । दिउसो घाम लागेको बेलामा सोलार पावरले काम गरेपनि रात परेपछि भने टेलिफोन लाईनहरुमा नेटवर्क हुदैन । राष्ट्रिय वाणिज्य बैंकलगायत निजी बैकहरूले जेनेरेटरको सहायताले सेवा प्रदान गर्दै आएको भएपनि इन्टरनेट सेवामा समस्या आउदा कारोबार गर्न समस्या भएको छ ।