नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

ओखलढुङ्गाको नेपाल टेलिकम : नागरिकलाई दिनुपर्ने सेवाकम

रामहरि श्रेष्ठ, बैशाख २१ ओखलढुंगा ।
ओखलढुङ्गामा नेपाल टेलिकमको सेवाप्रती जनप्रतिनिधिहरुले आक्रोश ब्यक्त गरेका छन् । बिहिबार सदरमुकाममा भएको उपभोक्ता शिक्षा कार्यक्रममा जिल्लाका बिभिन्न गाउँपालिकाका जनप्रतिनिधीहरुले टेलिकमको सेवा प्रती आक्रोस ब्यक्त गरेका हुन् । नेपाल टेलिकमले ओखलढुंगामा बितरण गरेको मोवाईल सेवा तथा एडिएसएल सेवा प्रभावकारी नभएको जनप्रतिनिधीको भनाई छ ।

चिसंखुगढी गाउँपालिकामा नेपाल टेलिकमले बितरण गरेको मोवाईल सेवा साझ परेसंगै अस्ताउने गरेको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए । दिउसोपख मोवाईल फोन राम्रै चल्ने भएपनि साझँ पर्दैगएपछि सेवा नै अवरुद्ध हुने उनको भनाई छ । मोवाईल सेवा अबरुद्ध हुँदा आगलागी, बाढीपहिरो जस्ता बिपत्तीको समयमा समेत अति आवश्यक सुचना प्रभाह गर्न समस्या हुने उनले बताए । ‘जब साँझ पर्दै जान्छ तब मोवाई सेवा बन्द हुन्छ यस्तो अवस्थामा आपतकालीन समयमा कसलाई कसरी सम्पर्क समन्वय गर्ने ? टुलुटुलु हेरेर बस्नुपर्ने अवस्थाको बाध्यता सिर्जना भएको छ’ प्रमुख शर्माले भने ।

त्यस्तै खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले जिल्लाको पश्चिमी भेगमा समेत सेवादिन टेलिकमलाई आग्रह गरे । उनले सेवा बिस्तारमा टेलिकमलाई पटकपटक जनकारी गराउदाँ समेत बेवास्ता गरेको आरोप लगाए । ‘टेलिकमका मान्छेहरु एउटा डाडोँमा नापजाँच गर्न बारम्बार गए रे भन्ने सुनियो । तर न पालिका अध्यक्षलाई थाहा छ, न वडा अध्यक्षलाई । अनि हामीले कसरी समन्वय गर्ने ? हामीले टेलिकममा बारम्बार पत्राचार गरेका छौ । सेवा चाहियो भनेर तर खै सुनुवाईनै भएन ।’

सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्ध प्रसाद अधिकारीले गाउँपालिका केन्द्र नै सञ्चार सम्पर्कबाट टाढा रहेको बताए । हालको गाउँपालिका केन्द्र रहेको स्थानमा टेलिकमको सेवा नभएको भन्दै त्यसतर्फ ध्यान दिन टेलिकमलाई आग्रह गरे । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा रहेको टेलिफोन टावरले लामो समयदेखी काम नगर्दा त्यसक्षेत्रका नागरीक मर्कामा परेका छन् । त्यसतर्फ पनि ध्यान दिन जनप्रतिनिधिले टेलिकमको ध्यानाकषर्ण गराएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितीका सभापती जय बहादुर श्रेष्ठले ओखलढुङ्गामा टेलिकमका हाकिम जागीर खान मात्र आएको भन्दै आक्रोश ब्यक्त गरे । उनले टेलिकमका प्रमुख राजकिशोर शाहलाई कुर्सीका लागी मात्र नभई जनताको सेवामा समेत ध्यान दिन आग्रह गरे । यस बिषयमा नेपाल टेलिकम शाखा ओखलढुङ्गाका प्रमुख राजकिशोर शाहले जिल्लाका बिभिन्न स्थानमा थप टावर बिस्तार हुने क्रममा रहेको बताए । उनले जनप्रतिनिधिहरुलाई टेलिफोन सेवा बिस्तार गर्नुपर्ने स्थान छनोट गरी जानकारी गराउन आग्रह गरे । त्यसपछि आफुले केन्द्रिय तहमा जानकारी गराउने बताए । ‘पहिलो कहाँ कहाँ सेवा बिस्तार गर्नुपर्ने हो पहिचान गरी खबर गर्नुस अनि म माथिल्लो तहमा फोन गर्छु ।’

टेलिकमले बितरण गरेको ल्यानलाईन तथा एडिएसएल ईन्टरनेट सेवा समेत प्रभावकारी नभएको जनप्रतिनिधी तथा स्थानीयहरुको भनाई छ । टेलिकमको सेवाप्रती जिल्लाका उपभोक्ताहरु यसअघिपनि पटकपटक डेलिगेशन समेत गैसकेका छन् । तर टेलिकमले भने कुनै सुनुवाई गरेको छैन । टेलिकमले ओखलढुंगामा सेवाको नाममा बह्रमलुट गरिरहेको उपभोक्ताको आरोप छ ।