नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

अमेरिकाले एकवर्ष भित्र ९ हजार नेपालीलाई देश निकाला गर्ने

ओखढुङ्गान्यूज, बैशाख १४ काठमाडौं । अमेरिकामा बसोवास गरिरहेका करिब ९ हजार नेपालीलाई अमेरीकी सरकारले देश निकाला गर्ने तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् ९टीपीएस० खारेज गर्दै उनीहरुलाई घर फर्काउने भएको जनाएको ।

वि. सं. २०७२ मा नेपालमा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै अमेरिकी सरकारले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सचिव क्रिश्जेन एम नेलसनले एक विज्ञप्ति जारी गर्दै टीपीएस सुविधा खारेज भएको घोषणा गरेकी हुन् ।

विज्ञप्ती जारी गर्दै सचिव नेल्सनले अमेरिकी कानून अनुसार, टीपीएस अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्दै १२ महिनाभित्र अमेरिका छाड्न भनेकी छन् । अब टिपीएस सुविधा लिएर अमेरिकामा बस्दै आइरहेका नेपालीले २४ जुन २०१९ सम्ममा अमेरिका छाडिसक्नुपर्नेछ ।

टिपीएस सुविधा पाएकाहरुलाई स्वदेश फर्किनका लागि सुविधा होस् भनेर संक्रमणकालीन रुपमा १२ महिनाको समय थप गरिएको छ । यो अवधिमा नेपालीहरुले स्वदेश फर्किने तयारी गर्न पाउने छन् । अन्य स्टाटसमा जाने भए पनि उनीहरुलाई यसै समय अवधिभित्र मौका दिइने छ ।

विनाशकारी भूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएपछि झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भएपनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको अनुमान छ ।

अवैधानिकरुपमा अमेरिका बसोबास गरिरहेका विदेशीलाई स्वदेश फर्काउने ट्रम्प प्रशासनको अभियानको पछिल्लो मारमा नेपालीहरु परेका छन् । ट्रम्प प्रशासनका हार्डलाइनरहरुले पहिलेदेखि नै टीपीएस सुविधा खारेजीमा जोड गरिरहेका थिए ।

ट्रम्प प्रशासनले हालै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको रेसिडेन्सी परमिट खारेज गरेको थियो । यस्तै सानो संख्यामा निकारागुवा र सुडानका नागरिकको बसोबास सुविधा पनि खारेज गरिएको थियो । धेरैजसो नेपालीहरु न्यूयोर्क शहरमा बस्दछन् ।