नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा बढ्यो ‘आत्महत्या’ गर्नेको क्रम, किन गर्छन आत्महत्या ?

विएन श्रेष्ठ, बैशाख ११ ओखलढुंगा ।
ओखलढुङ्गामा पछिल्लो समय आत्महत्याको गर्नेहरुको संख्यामा बृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा रहेको चार वर्षको तथ्यांकलाई केलाउदा आर्थिक वर्ष २०७१/७२ को तुलनामा आर्थिक वर्ष २०७४/७५ मा आत्महत्या गर्नेहरुको संख्या झण्डै तिन दोब्बरले बढेको पाईएको छ ।

जिल्लामा चालू आर्थिक वर्षको अहिले नौ महिनासम्म मात्रै ३४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । यसमा महिला १४ पुरुष १७ बालबालीका ३ जना रहेका छन् । आत्महत्या गर्नेहरुमा १५ देखी ४५ वर्ष उमेर समूहका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा १४ जनाले आत्महत्या गरेको पाईएको छ भने २०७२/०७३ मा २६ जनाले आत्महत्या गरेको पाईएको छ । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा आत्महत्या गर्नेको संख्या बढेर ३१ पुगेको छ भने चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा अर्थात चालु आर्थिक वर्षको ९ महिनामा ३४ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

मानविय जिवनले सधै आवश्यकता खोजी रहन्छ । ईच्छा र आकांक्षा फरक फरक मात्रै हुन । तर आवश्यकता सबैलाई जरुर नै हुन्छ । मानवीय इच्छा र आकांक्षाहरु अनगिन्ती हुने र ती पूरा हुन नसक्दा निराश भएर मानिसहरुले आत्महत्याको बाटो रोज्ने विज्ञहरु बताउँछन् । आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । तरपनि आत्महत्या गर्नेको संख्यामा कमी नआउनु चिन्ताको विषय बनेको छ । ओखलढुंगामा आत्महत्याको गर्नेको आँकडा डरलाग्दो रहेकाले यसलाई न्यून गर्न थप सचेतना कार्यक्रमको सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

मानिसले किन गर्छन त आत्महत्या ?
आत्महत्याका घटना बढ्दै जानुको मुख्य कारण मानिसको व्यस्त जीवनशैली र तनावलाई मानिन्छ । बढ्दो शहरी वातावरण, विद्युतिय प्रबिधि अनावश्यक आकांक्षालाई पूर्ताल गर्न नसक्दा मानिसहरुमा हिनता बोधको अबस्था सृजना हुन्छ । आफु जहिले पनि निचो र अरु सधै उचो भएको भान हुदा आफु हेपिएको महशुस भएपछि पनि मानिसले आत्महत्या गर्छन् । जुन गलत छ ।

मानिसले आत्महत्या गर्नुको मुख्य कारण अहिले सम्म यहि नै हो भनेर अनुसन्धानहरुले कुनै पुष्ट्याई नगरेको भएपनि आत्महत्या गर्न मानिस अभिप्रेरित हुनुमा हैसियत भन्दा बढ्दो आवश्यकता पुरा गर्न नसक्नु, कुनै पनि कारणले समाज प्रति लज्जा बोध गर्नु, कोही कसैले आत्महत्याको नक्कल गर्नु, हैसियत भन्दा बढि आवश्यकता पूर्ताल गर्नुपर्ने दबाबको चपेटामा पर्नु, कुनै पनि कारणवाट आइृपर्ने तनावको समाधान गर्न सक्ने क्षमता नहुनु लगायत यी यावत कारणहरुले नै मानिसहरुले आत्महत्या गरेको पाईन्छ । एद्यपी यस बारेमा गम्भिर अनुसन्धान हुनु जरुरी छ ।

कसरी थाहा पाउने तनाव भएको ?
तनावग्रस्त मानिसमा घोरिने, चिटचिट पसिना आउने, बेलाबेलामा झस्किने, कसैसँग कुरा गर्न नचाहने, हडबडाउने, बहकिने, एकान्तमा बस्न मन पराउने, लागुपदार्थ सेवन गर्ने लगायतका लक्षणहरु देखा पर्छ । त्यस्ता व्यक्तिलाई समयमै सम्झाइबुझाई गर्नुपर्ने र एक्लै यताउति जान दिनबाट परिवारले रोक्नुपर्ने प्रहरीको सुझाव छ । यसका साथै प्रेममा धोका, पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादकपदार्थ सेवनको लत पनि आत्महत्याका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्मा जिल्लाका विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने र मनोपरामर्श दाताहरुलाई नियमित जसो नै खटाउनु पर्ने बताउनु हुन्छ । गाउँघरमा अरुको सिको गरेर हुने परिवारको आर्थिक अबस्थाले धान्ने भन्दा बढि ईच्छा, आकांक्षा र मागमा परिवारका अन्य सदस्यहरुले बुझ्नुपर्ने पनि उहाँको भनाई छ । मानिसमा अलिक बढि तनाब भएपछि आत्महत्या गर्न प्रेरित हुन्छ । परिवारका कोही कसैमा अलिक बढि तनाब लिएको जस्तो महशुस गरेमा परिवार सजग भएर ध्यान दिएमा पनि आत्महत्याको सृङ्खलामा कम आउने प्रहरी प्रमुख शर्माको विश्वास छ ।

जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गाका डाक्टर अजित आचार्य आत्महत्याको घटनामा कम गर्न विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्ने बताउनुहुन्छ । आत्महत्या गर्नेहरुको क्रम पछिल्लो समय ओखलढुङ्गामा मात्रै हैन, अन्य जिल्लाहरुमा पनि बढ्दै गरेको पाईएको छ । त्यसैले आत्महत्याको बढ्दो क्रमलाई नियन्त्रण गर्न विद्यालयमा पढाई हुने पाठ्यक्रममा पनि यस्ता विषयलाई समेट्नु पर्ने उहाँको भनाई छ । विद्यालय स्तरदेखी यस्ता विषयमा अध्यापन भए आत्महत्या गर्नेको संख्यामा ८० प्रतिशत भन्दा बढिले कम िआउने डाक्टर आचार्यको दावी छ ।

जिल्लाका बिभिन्न स्थानहरुमा बिभिन्न गैरसरकारी संस्थाहरुले मनोपरामर्शको कक्षा संचालन गरेपनि प्रभावकारी भने देखीएको छैन । २०७२ को भूकम्प पछाडी आत्महत्या गर्नेहरुको संख्यामा बृद्धि भएको छ । मनोपरामर्शको कक्षा सञ्चालन गर्ने गैर सरकारी संघसंस्थाहरु पनि यसै समयपछि स्थानीय स्तरमा च्याउसरी लागेका छन् । तरपनि आत्महत्या गर्नेहरुको संख्या दिनानुदिन बढि रहेको छ । यस सृंखलालाई कम गर्न मनोपरार्मशका कक्षहरुलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्नू अबपनि ढिलाई गर्नुहुन्न ।