नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सिफारिस लेख्दैमा वित्यो वडाध्यक्षहरुको आठ महिना

विवेश श्रेष्ठ, फागुन १३ ओखलढुङ्गा
ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं. ३ का गोपाल खड्कालाई वडाध्यक्षको जिम्मेवारी पाएपछि उहाँ सरकारी कर्मचारी जस्तै दिनहुँ व्यस्त हुनुहुन्छ । वडा कार्यालयमा बसेर सिफारिस लेख्ने कामकाजमा दिन बितेको पत्तो नभएको खड्का बताउनुहुन्छ । प्रत्येक दिनको बिहान १० बजे कार्यालयमा पुगेपछि सिफारिस लेख्ने कार्यमा उहाँलाई भ्याइनभ्याइ हुन्छ ।

त्यस्तै सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामीरेका वडा अध्यक्ष दान बहादुर बानिया पनि कार्यालयमा बसेर सिफारिस लेख्नमै व्यस्त हुनुहुन्छ । “वडा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सिफारिस लेख्ने कामले एकछिन पनि फुर्सद छैन,” बानीया भन्नुहुन्छ । “दिउँसो कार्यालयमा बसेर सिफारिस लेख्ने, बिहान साँझ वडाको विकास निर्माणका काममा व्यस्त छु, जनता र गाउँको विकास गर्नैप¥यो” वानियाले भन्नुभयो । पहिला त गाविस हुदा सचिव सहायक कर्मचारी पनि हुन्थे । तर गाविसवाट वडा पालिका भएपछि कार्यालय सहयोगीको पनि आफैले काम गर्नुपर्छ, बानियाको गुनासो छ ।

जन्म, मृत्यु, विवाह, बसाइँसराइबाहेक अन्य नागरिकता, मालपोत लगायतका धेरै प्रकृतिका सिफारिस वडाध्यक्षले नै गर्नुपर्दछ । नागरिकलाई जिम्मेवारी पनि बनाउनु छ । राजश्व पनि संकलन गर्नु छ । तर वडाले संकलन गरेको राजश्वमा समेत वडाले खर्च गर्ने अधिकार छैन । कामको जिम्मेवारी गाउँपालिकाका अध्यक्ष, नगरप्रमुखलाई भन्दा वडा अध्यक्षलाई बढी हुन्छ ।

तर त्यही वडाअध्यक्षलाई बजेटसम्बन्धी पूर्ण अधिकार नभएको सुनकोशी गाउँपालिका वडा नं. ९ कटुञ्जेका अध्यक्ष झनक कुमार कार्की बताउनुहुन्छ । कामको जिम्मेवारी बढी, बजेट अधिकार शून्यजस्तै भएका कारण अबको स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षको उम्मेदवार हुने व्यक्ति पाउन कठिन हुने उहाँको भनाइ छ ।

जनप्रतिनिधिले गर्ने सिफारिसको काम कर्मचारीबाट भयो भने जनप्रतिनिधिले सिफारिस लेख्ने समय विकास निर्माणको काममा दिन सकिने खिजिदेम्बा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष कमल प्रसाद न्यौपाने बताउनुहुन्छ ।

वडाध्यक्षलाई कार्यालय समय अवधिभर सिफारिस लेख्ने, हस्ताक्षर गर्ने कामले एकछिन फुर्सद हुँदैन । वडा कार्यालय व्यवस्थापनको लागि पनि बजेट अत्यन्त कम भएको र वडाबाटै खाता सञ्चालनको व्यवस्था नहुँदा वडाध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको उहाँहरुको गुनासो छ ।

अब प्रदेशसभाको गठनको कार्य पनि सकिएकोले प्रदेशसभाको संसद बैठकले वडा अध्यक्षलाई समेत आर्थिक कारोबार गर्नको लागि वाटो खुला गर्नुपर्ने उहाँहरुको माग छ । ओखलढुङ्गाका प्रदेशसभाका सांसद मोहन कुमार खड्काले वडा अध्यक्षहरुको उक्त मागलाई प्रदेश संसदको वैठकमा उठान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।