नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जोखिमवाट बच्ने शिप सिक्दै ओखलढुङ्गाका किशोरीहरु

विवेश श्रेष्ठ, फागुन ९, ओखलढुङ्गा
जोखिमवाट बच्ने शिप सिक्नका लागि ओखलढुङ्गाका किशोरीहरु समूह मार्फत एक हुन थालेका छन् । उनीहरुलाई शिप सिकाउनका लागि रेसलेस डेभलोपमेन्ट र युएनएफपीएको आर्थिक सहयोगमा रुपान्तरण परियोजना अन्तर्गत सिद्धिचरण महिला सहकारी संस्थाले सहयोग गरिरहेको छ ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको ६ स्थानमा किशोरी समूह बनाएर किशोरी कक्षा सञ्चालन गरिएको छ । किशोरीहरुको समूह बनाएर किशोरीहरुलाइृ जिवन उपयोगी शिप सिकाउने सहयोगी कार्यकर्ता पनि किशोरी नै छन् । कक्षा सञ्चालन गर्नुपुर्व सहयोगी कार्यकर्ताहरुलाई तालिमको सञ्चालन गरिएको थियो ।

जिल्ला सदरमुकाम सिद्धिचरण नगरपालिकाका ज्यामिरे, रमाईलोडाडा, मिलनचोक, जाल्पा मावि, सोब्रु र सितलपुर गरि छ स्थानमा यस्तो कक्षा सञ्चालन भै रहेको छ । त्यस बाहेक मोलुङ गाउँपालिकाको हर्कपुरमा पनि यस्तै कक्षा सञ्चालन भै रहेको छ । यी छ स्थानमा पहिलो चरणको कक्षा सञ्चालन भएको भएपनि हर्कपुरमा भने दोश्रो चरणको कक्षा हो ।

नवजागरण किशोरी समूह ज्यामिरेका सहजकर्ता सरस्वती बानियाले आफुले काठमाण्डौमा १२ दिने तालिम लिएपछि यो कक्षा सञ्चालन गर्न लागेको बताईन् । आफुले तालिम लिदा जति उत्साह थियो, कक्षा सञ्चालन गर्दा त्यो भन्दापनि बढि उत्साह थपिएको बानियाले बताईन् । आफुले जानेको शिप अरु साथिहरुलाई पनि बाडेर किशोरीहरको जिवनमा आईपर्ने चुनौती र त्यसबाट बच्नका लागि आफुले अपनाउनु पर्ने साबधानीको विषयमा कुरा गर्न पाउदा अत्यन्तै खुशी लागेको बानियाले बताईन् ।

त्यस्तै कक्षाका अर्का सहभागी अनिता बानियाले किशोरी कक्षामा सहभागी भएपछि आफुमा धेरै परिवर्तन आएको बताईन । अनिताले भनिन्, ‘पहिला पहिला बोल्न डर लाग्थ्यो । नजानेको कुरा सरहरुसग सोध्न पनि डर लाग्थ्यो । अहिले त्यस्तो लाग्दैन । बोल्न सक्ने भाछु ।’

कतिपय अबस्थामा आफुलाई जानकारी हुदाहुदै पनि समस्याको समाधानको बिधी थाहा हुन्न थियो । तर यो कक्षामा सहभागी भएपछि त्यसको हल गर्ने बिधि थाहाभएको कक्षाका सहभागी तुलसा मगरले बताईन् । किशोरी कक्षामा सहभागी भएपछि आफ्नो विद्यालयको पढाईमा पनि फरकपन आएको मगरले बताईन् ।

यो कक्षा महिनाको चार दिन अर्थात विदाको दिनमा सञ्चालन हुने गर्दछ । कक्षामा १५ देखी २० वर्ष उमेर समूहका किशोरीहरु सहभागी छन् । प्रत्येक कक्षामा औषत २० जना सहभागीहरु छन् । बजेट थोरै भएका कारण कक्षामा सहभागी हुन ईच्छुक हुने किशोरीहरु धेरै भएपनि सहभागी गराउन नसकिएको युएनएफपीएकी जिल्ला संयोजक सरीता दाहालले बताईन् ।

दाहालका अनुसार सहभागी किशोरीहरुका लागि स्टेशनरी र केही प्राबिधीक कुराहरु मात्रै सहयोग गरिएको छ । उनका अनुसार सहभागीहरुले स्टेशनरी सगै कक्षामा सहभागी भएवापत प्रत्येक कक्षाको खाजा खर्च वापत ५० रुपैया पाउछन् । प्रत्येक कक्षा ४ देखी ५ घण्टाको हुन्छ ।

महिला हिंसा, बालविवाह, लैङ्गिक हिंसा जस्ता जोखिमवाट वच्दै उज्यालो भविष्य निर्माण गर्न कक्षा सञ्चालन गरिएको हो । किशोरीहरुले कुनै अवसर पाउदा अबसरलाई कसरी सफलता पूर्वक सदुपयोग गर्ने भन्ने बारेमा पनि यो किशोरी कक्षाले सहयोग गर्ने पनि दाहालले बताईन् ।