राष्ट्रपतिको निर्वाचन कहिले ?
ओखलढुङ्गान्युज, फागुन ५ काठमाडौँ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक समेतको अन्तिम मतपरिणाम सार्वजनिक गरेको केही दिनमात्रै वित्दा राष्ट्रपतिको निर्वाचनको मिति प्रस्ताव गरेको छ । निर्वाचन आयोगले फागुन २१ गते राष्ट्रपतिको चुनाव गर्न प्रस्ताव गरेको छ । निर्वाचन आयोगमा राष्ट्रिय मान्यता प्राप्त पाँच राजनीतिक दलका नेतासँग बिहीबार छलफल गर्दै आयोगले फागुन २१ गतेको मिति प्रस्ताव गरेको हो ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सरकारसँग परामर्श गरेर केही दिनभित्रै चुनावको कार्यतालिका घोषणा गर्ने तयारीमा आयोग लागेको छ । आयोगले उपराष्ट्रपतिको चुनाव चैत १ गते प्रस्ताव गरे पनि राजनीतिक दलसँगको छलफलमा चैत ३ गते उपयुक्त हुने सुझाव दिइएको थियो ।
तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ । राष्ट्रपतिको निर्वाचन संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । राष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभा गरी कुल ८८४ मतदाता हुनेछन् ।
राष्ट्रियसभा र प्रतिनिधि सभा गरी ३३४ जना सदस्य छन् । यसैगरी प्रदेशसभाका ५५० सदस्य निर्वाचित भइसकेका छन् । निर्वाचनमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ र त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ ।