नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

अब देखी घरमै बसेर विश्वविद्यालयको डिग्री

ओखलढुङ्गान्युज, माघ १७ काठमाण्डौ ।
नेपालमा पहिलो पटक खुल्ला विश्वविद्यालयको स्थापना भएको छ । विश्वविद्यालयको स्थापना सगै नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले पिएचडीसम्मको डिग्री लिन अब घरमै अध्ययन गरेर पाउने भएका छन् । उक्त विश्वविद्यालयले अब प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पिएचडीसम्मको डिग्री दिने भएको हो ।

सोमबार बसेको खुला विश्वविद्यालयको प्राज्ञिक परिषद् बैठकले डिप्लोमा, पोस्टग्य्राजुयट डिप्लोमा, मास्टर्स, एमफिल र पिएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । प्राज्ञिक परिषद्का सदस्य एवं शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्लेले खुला विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रम परिषद्बाट निर्णय भएको र २४ माघमा बस्ने सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने बताउनुभयो ।

खुला विश्वविद्यालयमा व्यवस्थापन÷कानुन संकाय, सामाजिकशास्त्र र शिक्षा संकाय गरि तीनवटा संकाय स्थापन हुने भएका छन् । यस्ता संकायबाट साधारण विषयदेखि इन्जिनियरिङ सम्मका विषय दूरशिक्षाबाट पढ्न पाइने भएको छ ।

त्यसैगरी विज्ञान, स्वास्थ्य र प्रविधि संकाय पनि चाडै स्थापना हुँदै छ । यो संकायमा प्राविधिक तथा व्यावसायिक सीपदेखि ‘पियोर साइन्स’का विषय पनि अध्ययनको व्यवस्था हुनेछ । इन्जिनियरिङका पनि धेरै विषय खुला विश्वविद्यालमा अध्ययन गर्न पाउने कुलसचिव ढकालले जानकारी दिनुभयो ।

कसरी पढ्न सकिन्छ खुला विश्वविद्यालयमा ?

दूरशिक्षा विधिबाट नेपाल खुला विश्वविद्यालयमा अध्ययन गरी डिग्री प्राप्त गर्न सकिनेछ । प्राध्यापक वाग्लेले तीन तरिकाले अध्ययन गर्न सकिने बताउनुभयो । विद्यार्थी आफैँले स्वाध्ययन गर्न सक्छन् । विश्वविद्यालयमा पढ्नुपर्ने कोर्स र सामग्रीको अध्ययन गर्न सकिनेछ । यदि कोर्स नबुझेमा इमेलमार्फत् प्रश्न सोधेर उत्तर पाउन सक्छन् । दुर्गम जिल्लामा स्रोत केन्द्र खोलेर अध्ययनको व्यवस्था गर्न सकिन्छ । नबुझेको सोधेर पढ्न सक्ने व्यवस्था छ ।

त्यस्ता स्रोत केन्द्रमा सुविधासम्पन्न लाइब्रेरी स्थापना गरी अध्ययन गर्ने अवसर दिन सकिन्छ । अनलाइन माध्यमबाट पनि पढ्न सकिन्छ । अनलाइनबाट रजिस्ट्रर्ड हुने, त्यहाँ अध्ययन गर्ने व्यक्तिले आफ्नो सर्कल बनाउने र अन्तक्रिया गर्नसक्ने विकल्प पनि हुनसक्छ ।

के फरक व्यवस्था   खुला विश्वविद्यालयमा ?

– शिक्षामन्त्री कुलपति हुने व्यवस्था छ, अरू विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुन्छन्

– अरू विश्वविद्यालयको जस्तो सेवा आयोगको व्यवस्था छैन

– शिक्षाध्यक्षको काम उपकुलपतिले गर्ने व्यवस्था

– प्राज्ञिक परिषद्को अध्यक्ष उपकुलपति हुने व्यवस्था

– आर्थिक प्रशासनिक काम गर्न कुलसचिव (रजिस्ट्रार)को व्यवस्था