नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

यमनका सरकारी भवन विद्रोहीकाे कब्जामा

ओखलढुङ्गान्युज, माघ १७, एजन्सी ।
सरकारी सुरक्षाकर्मी र विद्रोही बिच यमनमा भिडन्त भएको छ । दक्षिण यमनका पृथकतावादीहरूले एडेन सहरका सरकारी भवनहरू कब्जामा लिएका छन् । भवन फिर्ता लिन विद्रोहीसँग सरकारी सुरक्षाकर्मीहरूले युद्ध लडिरहेका छन् । सरकारी भवन कब्जा गरेको स्थान यमनको मुख्य बन्दरगाह सहर हो । लगातार दुई दिनको प्रयासपछि पृथकतावादीहरूले सरकारी भवन नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

भिडन्तमा परि दर्जनौ सर्वसाधारण मानिस मारिएका छन् । सरकारी सेना तथा विद्रोही दुवै पक्षमा ठूलो नोक्सानी भएको एजेन्सीहरूले दाबी गरेका छन् । दुवैपक्षको ठुलो नोक्शानी भएको दावी गरिएपनि अहिलेसम्म कति संख्यामा व्यक्तिहरू हताहत भएको भन्ने एकिन भएको छैन ।

दक्षिण यमनका विद्रोहीहरूले केही दिनअघि शान्तिपूर्ण प्रदर्शन गर्न सरकारसँग अनुमति लिएका थिए । तर, सरकारले शान्तिपूर्ण प्रदर्शन गर्नमाथि रोक लगायो । आफूहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्न नदिइएका कारण विद्रोहीहरूले सरकारी भवनमै आक्रमण गरी कब्जा जमाएको जनाइएको छ ।

विद्रोहीहरूले सरकारको निर्देशन पालना नगरेपछि साउदी अरब गठबन्धनअन्तर्गत सरकारी सेना र विद्रोहबीच सुरमा दक्षिण यमनमा झडप भएको थियो । हिंसात्मक रूप लिएको विद्रोहीहरूले सरकारी भवनमा एकैपटक आक्रमण गरेर सरकारी भवन कब्जा गरेका थिए । विद्रोहीले कब्जामा लिएको सरकारी भवन फिर्ता गराउन सरकारी सेना र विद्रोही बिच लडाई भै रहेको हो ।