नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

आज सहिद दिवस: नेपालका सहिद कति ?

विएन श्रेष्ठ, माघ १६ ओखलढुङ्गा ।
आज मुलुक भरि देशैभर सहिद दिवस मनाईदै छ । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राणको बलिदान दिने सहिदको सम्झनामा यो दिवस मनाईने गरिन्छ । सहिद दिवस वि।सं। २०१२ देखि नै माघ १६ गतेका दिनलाई शहीद दिवसको रुपमा मनाइन्छ । सरकारले माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाइरहेको छ । तर कति सहिद घोषणा गरिए भन्ने तथ्यांक भने सरकार सग यकिन तथ्यांक नभएको पाइएको छ ।

वि.सं. १९९७ को माघ १० गते शुक्रराज शास्री लाई काठमाडौँको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको सम्झना स्वरुप आज माघ १६ गते सहिद दिवसका दिन सहिदहरुको सालिकमा माल्यार्पण गरि सम्झना तथा सम्मान गर्ने कार्यक्रम छ ।

आज विहान शान्तिबाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिदै छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

नेपालमा पहिलो सहिद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद – शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरिएको छ । पञ्चायतकालमा पनि प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटक–पटक थुप्रै योद्धाले आफ्नो जिवनको कुर्वानी गरेका छन् । तर उनीहरूका बारेमा भने राज्यले त्यति महत्व दिएको देखिँदैन ।

०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ सहिदलाई सम्मानस्वरुप सरकारले जनही एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, २०६२/६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई सहिद घोषणा गरिएको थियो ।

२०६२/६३ को जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि सहिद घोषणा गर्ने परम्पराको सुरुवात भएको छ । पछिल्लो पटक सरकारले यहीँ माघ ३ गते विभिन्न आन्दोलनमा मारिएका १९० जनालाई शहीद घोषणा गरेको छ । सरकारले २०६७ असार ९ गते शान्ति तथा पुनःस्थापना मन्त्रालयको सिफारिसमा एक हजार ६१९ जनालाई सहिद घोषणा गरेको गरेको थियो ।

त्यस्तै, सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई सहिद घोषणा गरेको बताए पनि त्यसको आधिकारिक तथ्यांक देखिँदैन । मन्त्रालयसँग हालसम्म कति सहिद घोषणा गरियो भन्नेबारे स्पष्ट जवाफ छैन । तरपनि मन्त्रालयले हाल सम्पूर्ण सहिदको तथ्यांक सूची संकलन गरी स्पष्ट अभिलेख राख्न सुरु गरेको छ ।

देशमा पछिल्लो पटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाईसमेत सहिद घोषणा गर्नुपर्ने र १० लाख रुपैयाँ आर्थिक सहयोगका लागि दबाब दिने प्रचलन बढेको छ । यसले वास्तविक सहिदको भावनामा ठेस पुगेको सहिद परिवारको गुनासो छ । आवश्यक मापदण्डबिना हचुवाका भरमा सहिद घोषणा गर्दा वास्तविक सहिदप्रति अपमान महसुस भएको सहिद परिवारले गुनासो गरेका छन् ।

कसलाई सहिद भन्ने भनेर विवाद आउन थालेपछि सरकारले २०६२/६३ सालको जनआन्दोलनपछि त्यसलाई व्यवस्थित गर्न दुई आयोगसमेत बनाएको भएपनि त्यसको प्रतिवेदन हालसम्म पनि कार्यान्वयन भएको छैन ।