नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

बाम गठबन्धन दक्षिणपन्थी हुन – संयोजक गजुरेल

ओखलढुङ्गान्युज, माघ १३ ओखलढुङ्गा ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले एमाले र माओवादी केन्द्रबीचको बाम गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् । शुक्रवार ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टीबीचको गठबन्धन वामपन्थी नभएर दक्षिणपन्थी भएको आरोप लगाएका हुन् ।

संयोजक गजुरेल नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य समेत हुन् । पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले एमाले र माओवादी दुवै वामपन्थी नभएकाले उनीहरुको गठबन्धनले दक्षिणपन्थीहरुलाई फाइदा पुगेको बताएका छन् ।

देश अहिले तीन खतराले आक्रान्त रहेको गजुरेलको भनाइ छ । सत्ताधारीहरुले निर्वाचन भएपछि सबै समस्या समस्या समाधान हुन्छ भन्ने भ्रम छरे पनि तीन खतराले नेपालको अतित्व संकटमा परेको गजुरेलले बताए ।

“विरगञ्जको छप्कैयामा सिमा मिचिएको काण्डले राष्ट्रिय स्वाधीनता खतरामा रहेको छ । राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचार निवारण र बेरोजगारी समस्याको समाधान अहिलेको प्रमुख समस्या हो । यो लोकतान्त्रिक भनिएको विहारी शैलीको संविधान र गणतन्त्रले यी समस्याको समाधान गर्न सक्दैन ।” गजुरेलले भने, “क्रान्तिकारी माओवादीले अब चिनीया शैलीको जनगणतन्त्र स्थापनाका लागि क्रान्तिकारी शक्ति निर्माण गरेर आन्दोलन गर्नेछ । जसले मात्र देशको विद्यमान समस्याको समाधान गर्नेछ ।”

देशमा भ्रष्टाचार मौलाएको बताउँदै विहारी गणतन्त्रले देश र जनताको स्वाधीनताको रक्षा नहुने तर्क गर्दै बेरोजगारीले युवाहरु विदेशिदा नेपालका शासकहरु रेमिट्यान्स खाएर रमाएको आरोप लगाए । विदेशीएका र विदेशीन बाध्य पारिएको सबै नेपाली युवाहरु एकतृत भएर पुन एकपटक देशको सिमा र स्वाधिनताको रक्षाको लागि संघर्ष गर्नुपर्ने दिन आएको पनि गजुरेलले बताए ।