नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

प्रदेश राजधानीमा नागरिक के कामका लागि जानुपर्छ ?

ओखलढुङ्गान्युज, माघ ७, ओखलढुङ्गा

प्रदेशसभा कार्यालयको अस्थायी कार्यालयको स्थापना गरिए सगै नागरिकहरुमा छलफल र बहस हुन थालेका छन् । नागरिकहरुले प्रदेशसभा कार्यालयको स्थापना सगै जिल्ला स्तरमा हुने कामहरुको लागि पनि प्रदेश कार्यालय सम्म धाउनु पर्ने भन्ने सम्मको भ्रम समेत सृजना भएको छ । यो वहस सगै नागरिकहरुलाई सामान्य कामका लागि समेत प्रदेश कार्यालय सम्म पुग्नुपर्ने हो कि भन्ने चिन्ताले समेत सताउन थालेको छ ।

तर हामी स्पष्ट हुनु जरुरी के छ भने प्रदेश सभाका लागि हामीले निर्वाचित गरेर पठाईएका जाप्रतिनिधीहरु मात्रै राजधानी (प्रदेश कार्यालय) जाने हुन् तर जनताका सरकारी काम स्थानीय तहमै रहने छन् ।

के के काम स्थानीय तहमा नै ?

१. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमै
जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणितलगायत सबै प्रकारका सिफारिस र सेवा वडा कार्यालयबाटै प्राप्त हुन्छन् । नागरिकता र राहदानी लिन मात्र अहिलेजस्तै जिल्ला सदरमुकाम जानुपर्नेछ ।

२. जग्गाको नामसारी र लालपुर्जा पनि गाउँमै
घरजग्गा धनी पुर्जा वितरणसेत स्थानीय तहबाटै हुनेछ । जग्गाको नामसारी तथा किनबेच, कित्ताकाट, उजुरीलगायतका सेवा पनि स्थानीय तहमै उपलब्ध हुन्छ ।

३. मालपोत र सम्पत्ति कर तिर्ने सुविधा वडामै
सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर, दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत कर वडामै तिर्ने हो ।

४ . सामाजिक सुरक्षा भत्ता पनि वडाबाटै वितरण
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तलाई वितरण गरिने सामाजिक सुरक्षा भत्ता, कार्यक्रमको वितरण र व्यवस्थापन पनि स्थानीय तहले नै गर्नेछ ।

५ . मुद्दामामिलाको प्रारम्भिक उपचार स्थानीय तहमै
सानातिना मुद्दा मामिला परे गाउँ अथवा नगरपालिकाले मेलमिलाप गराउने र मध्यस्थता गर्नेछ । यसका लागि उपप्रमुखको नेतृत्वमा इजलास नै हुन्छ । त्यहाँ चित्त नबुझे मात्र जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत जान सकिनेछ ।

६ . सहकारीदेखि रेडियो दर्ता पनि स्थानीय तहमा
सहकारी संस्थादेखि एफएम रेडियोसम्म स्थानीय तहमै दर्ता वा खारेज गर्न सकिन्छ । यस्तै, खानेपानी, साना जलविद्युत् आयोजना, वैकल्पिक ऊर्जाको निर्माण पनि स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्छ ।

७ . माविसम्मको परीक्षा र पाठ्यक्रम स्थानीय तहमा
माध्यमिक अर्थात् एसइई परीक्षा स्थानीय तहले लिने हो । यो तहसम्मको पाठ्यक्रम पनि उसैले बनाउने हो ।

तर समर्थन र विरोधमा प्रदर्शन जारी
प्रदेशको अस्थाई कार्यालय राखेको विरोधमा देशै भर ठाउठाउमा विरोधका कार्यहरु भैरहेका छन् । उचित तथा सबैलाई पायक पर्नेगरि नराखिएको विरोधमा देशैभर विरोध जारी छ । विरोध अन्तर्गत धनकुटामा कफ्र्यु जारी रहेको छ । धरानमा प्रदेश कार्यालय नराखेको विरोधमा आगजनी भएको छ ।

त्यसैगरि विरगञ्जमा पनि व्यापक रुपमा प्रदर्शन गरिएको छ भने दाङमा पनि स्थानीयवासीहरुले लामो समयदेखी दाङ बन्दको घोषणा गरेका छन् । बन्दका कारण स्थानीयको जनजिवन प्रभावित भएको छ । सरकारको विरोधमा विभिन्न कृयाकलाप सगै प्रधानमन्त्रीको पुत्ला दहन तथा सरकारी कार्यालयको तोडफोड समेत आन्दोलनकारीहरुले गरेका छन् ।

सातवटै प्रदेशका प्रदेश प्रमुखले शुक्रवार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न प्रदेश प्रमुखहरुले शपथग्रहण गरेका हुन् । सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । बिहीबार सार्वजनिक बिदा परेकाले शपथग्रहण शुक्रबारलाई सारिएको थियो ।

यसैबीच, निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन तयार गरेको छ । प्रदेश प्रमुखले शपथग्रहण गरेपछि लगत्तै प्रतिवेदन बुझाउने गरी राष्ट्रपति कार्यालय र सरकारसँग समन्वय भइरहेको आयुक्त नरेन्द्र दाहालले जानकारी दिए । त्यस्तै गरि प्रदेश प्रमुखको नियुक्ति सगै निर्वाचन आयोगले समानुपातिकका उमेदवारहरुलाई पनि प्रमाणपत्र प्रदान गरको छ । यो सगै आज अर्थात आईतवार सातओटै प्रदेशका प्रत्यक्ष निर्वाचित तथा समानुपातिक सांसदहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।