नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

स्वास्थ्य संस्थामा सुत्केरी गराउदा पाँच हजार पाईने

ओखलढुङ्गान्युज, माघ ६ सोलुखुम्बु ।
स्थानीय स्वास्थ्य संस्थामा प्रसुती गराउदा सोलुखुम्बुमा पाँचहजार भत्ता पाईने भएको छ । मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रसुति गराएबापत थुलुङ दूधकोसी गाउँपालिकाले प्रोत्साहन भत्ता दिने भएको हो ।

घरमा नै प्रसुती गराउदा आमा र बच्चा दुबैको स्वास्थ्यमा समस्या आई आमा तथा बच्चा दुवैको मृत्यु समेत हुन सक्ने भन्दै स्वास्थ्य संस्थामा नै प्रशुती गराउन लैजान यस अघि पनि नेपाल सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । स्थानीय स्वास्थ्य संस्थामा प्रशुती गराउदा १ हजार र चार पटक गर्भ जाँच गराए वापत ४ सय गरी जम्मा १ हजार ४ सय दिने ब्यबस्था यस अघि पनि गरिएको थियो ।

संघिय संरचनाको लागु भएसगै आफैले निर्णय गर्दै स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने महिलालाई प्रोत्साहन स्वरूप पाँच हजार रुपैयाँ दिने भएको हो । केही दिन अघि सम्पन्न भएको गाउँपालिकाको प्रथम गाउँसभाले गरेको उक्त निर्णय शुक्रबारदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

‘अझै पनि घरमा नै प्रशुती गराउनेहरुको कमी छैन, तर अब देखी स्वास्थ्य संस्थामा प्रसुति गराएको कागजात पेस गर्ने प्रत्येक महिलालाई गाउँपालिकाको तर्फबाट पाँच हजार रुपैयाँ पाउनेछन्,’ अध्यक्ष राईले भन्नुभयो, ‘गर्भवती आमा र नवजात शिशुको जीवन रक्षा गर्नु स्थानीय तहको जिम्मेवारी पनि हो, विकट गाउपालिका भएकै कारणले पनि स्वास्थ्य क्षेत्रका लागि हाम्रो गाँउपालिका अझ संवेदनशील छ ।’

आर्थिक अभावले घरमै प्रसूति गराउँदा आमा र शिशुको अकालमै मृत्यु हुने घटना भइरहेकाले प्रोत्साहन भत्ता प्रदान गरेको अध्यक्ष राईले बताउनुभयो । सोलुखुम्बु जिल्लाको साविक ७ वटा गाविस मिलाएर निर्माण गरिएको थुलुङ दुधकोशी गाउँपालिकामा हाल ९ ओटा वडाहरु रहेका छन् ।

यस गाँउपालिकाको कुल जनसंख्या १९ हजार ६ सय ७२ रहेको छ । सोलुखुम्बु जिल्ला कै विकट गाँउपालिकाको रुपमा चिनिने यस गाउँपालिकाका वडा नम्बर ४, ५ र ९ मात्र सडक सञ्जाल जोडिएको छ । कुनै कारणका कारण अन्य वडाका नागरिक बिरामी भएमा साविक लोखिम र जुबुका स्थानीयले हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता यहाँका बासिन्दाको रहेको छ ।