नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

राष्ट्रियसभाको चुनाव ः कुन प्रदेशमा को अगाडी

ओखलढुङ्गान्युज, माघ ५ काठमाडौं ।

राष्ट्रियसभा निर्वाचनको मिति र निर्वाचन केन्द्रसमेत तोकिएपछि दलहरु आफुले जित्ने स्थान र सदस्यहरुको नामावलीको तयार गर्नतर्फ लागेका छन् । राष्ट्रियसभाको निर्वाचनको मिती तोकिए सगै राजजितिक दलहरुले आ–आफ्नो मत कहाँ कती भन्दै मतसंख्या जोड्न थालेका छन् ।

राष्ट्रियसभा निर्वाचन प्रदेशगतरुपमा हुनेछ । राष्ट्रियसभा सदस्यमा ५६ जनाको चुनाव भए पनि प्रत्येक प्रदेशका मतदाताले आफ्नो प्रदेशका उम्मेदवारलाई मात्र मत दिन पाउनेछन् ।

प्रत्येक प्रदेशका तीन महिला र तीन खुला सदस्यकोलागि निर्वाचन हुनेछ । तर एकल संक्रमणीय प्रणाली अनुसार निर्वाचन हुने भएपनि दलित र अपांगरअल्पसंख्यकको निर्वाचन भने बहुमतीय प्रणालीबाटै हुनेछ ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभामा निर्वाचित तथा समानुपातिक सांसदहरुले मतदान गर्न पाउनेछन् । स्थानीय तहका निर्वाचित प्रमुख उपप्रमुख र प्रदेश सांसदहरुको संख्या अनुसार २ नम्बर प्रदेश बाहेक अन्य सबै प्रदेशमा बामपन्थी गठबन्धनको स्पष्ट बहुमत छ ।

प्रदेश नम्बर १, ३ र ६ मा एमालेको एकल बहुमत देखिएको छ । तर अन्य प्रदेश नं. ४, ५ र ७ मा भने एमालेले अर्काको साथ लिनु पर्नेछ । प्रदेश २ मा भने संघीय समाजवादी फोरम र राजपा मिल्दा उनीहरुको बहुमत हुने देखिन्छ ।

स्थानीय तहमा एमालेभन्दा केही सिटले मात्रै पछि परेको कांग्रेस प्रदेशसभामा भने धेरै पछाडि छ । त्यसमाथि एमाले र माओवादीको गठबन्धन भएपछि कांग्रेसलाई अप्ठ्यारो भएको छ । धेरै मतभार हुने प्रदेशसभामा कांग्रेस कमजोर भएका कारण एकल संक्रमणीयबाट पनि कांग्रेसले धेरै लाभ पाउने सम्भावना छैन ।

प्रदेश नम्बर १ः
१ नम्बर प्रदेशबाट एमालेको कुल मतदाता संख्या २०४ छ । जुन कुल मतदाता संख्याको बहुमत हो । १ नम्बर प्रदेशमा माओवादीको मत स्थानीय तहमा २० मात्र छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित १० र समानुपातिक ५ गरि १५ जना मतदाता छन् । माओवादीको कुल मत ३५ समेत थपिँदा बामपन्थी गठबन्धनको पक्षमा २३९ मत हुनेछ ।
कांग्रेसको पक्षमा स्थानीय तहका प्रमुख र उपप्रमुख ९७ जना र प्रदेशसभाका प्रत्यक्ष निर्वाचित ८ र समानुपातिक १३ गरि २१ मतदाता छन् । कांग्रेसका कुल मतदाता ११८ रहेका छन् भने संघीय समाजवादी फोरमका स्थानीय तहमा ४ र प्रदेशसभामा ३ गरि ७ जना मतदाता छन् ।

प्रदेश नम्बर २ः
प्रदेश नम्बर २ मा कुनै पनि दलको बहुमत छैन । स्थानीय तहको मतमा कांग्रेस अगाडि भए पनि प्रदेशसभामा मधेशवादी गठबन्धन मिलेर लड्दा उनीहरुको बहुमत छ । वामपन्थी गठबन्धन यहाँ दोस्रो स्थानमा छ ।

प्रदेश नम्बर २ मा स्थानीय तहमा कांग्रेसका ७२ मतदाता छन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ८ र समानुपातिक ११ गरि १९ मतदाता छन् । कुल मिलाएर कांग्रेसका ९१ मतदाता २ नम्बर प्रदेशमा छन् ।

२ नम्बर प्रदेशमा एमालेका कुल मिलाएर ६१ मतदाता हुनेछन् भने माओवादीका ५५ मतदाता छन् । वामपन्थी गठबन्धनको पक्षमा यो प्रदेशबाट ११६ मतदाता हुनेछन् । प्रदेश नं. २ मा नै राजपाका ७९ मतदाता हुनेछन् भने संघीय समाजवादी फोरमका ७७ मतदाता छन् ।

कुल मतदाता संख्यालाई मिलाएर फोरमका मधेशवादी दलको गठबन्धन बनाएर चुनावमा जाँदा यो गठबन्धनको पक्षमा २ नम्बर प्रदेशमा १५६ मतदाता हुनेछन् । यहाँ पनि मधेशवादी गठबन्धन र बामपन्थी गठबन्धनको प्रतिस्पर्धामा कांग्रेसले कुनै सिट नपाउन सक्छ ।

प्रदेश नम्बर ३ः
प्रदेश नम्बर ३ मा स्थानीय तह र प्रदेशसभा दुवै ठाउँमा एमालेको एकल बहुमत छ । वामपन्थी गठबन्धन हुँदा कांग्रेस निकै पछि पर्नेछ । ३ नम्बर प्रदेशबाट एमालेका कुल मतदाता १९३ हुनेछन् । त्यस्तै माओवादीबाट कुल ४८ जना मतदाता छन् । यी दुवै मिलाउदा यो प्रदेशबाट वामपन्थी गठबन्धनका २४१ मतदाता हुनेछन् ।

तर यो प्रदेशमा कांग्रेसको कुल मतदाता संख्या ८३ हुनेछ । यो प्रदेशबाट विवेकशील, राप्रपा, नयाँ शक्तिका पनि केही मतदाता छन्, जुन निर्णायक संख्या होइन ।

प्रदेश नम्बर ४ः
प्रदेश नम्बर ४ मा एमाले र कांग्रेसका मतदाता संख्या लगभग बराबरी देखिएको छ । यो प्रदेशमा एमालेका ९८ जना मतदाता छन् । माओवादी केन्द्रका भने २९ मतदाता मात्रै छन् । माओवादीका कुल २९ मतदाता र एमालेका ९८ मिलाउँदा वामपन्थी गठबन्धनको पक्षमा १२७ मत हुनेछ ।

नेपाली कांग्रेसका स्थानीय तहका ८१ मतदाता छन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६ र समानुपातिक ९ गरि १५ सांसद छन् । कांग्रेसको कुल मिलाएर ९६ मत हुने यो प्रदेशसमा एकल संक्रमणीयबाट कांग्रेसले एक वा दुई सिट जित्न सक्छ । यस प्रदेशबाट राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिको पनि केही मतदाता छन् ।

प्रदेश नम्बर ५ः
प्रदेश नम्बर ५ मा स्थानीय प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित र समानुपातिक कुल मिलाएर यो प्रदेशबाट एमालेका १३१ मतदाता हुनेछन् । त्यस्तै माओवादीका कुल मतदाता संख्या ५८ रहेको छ । यसरी ५ नम्बर प्रदेशमा बामपन्थी गठबन्धनका १८९ मतदाता छन् ।

उता कांग्रेसको कुल मतदाता संख्या ८७ हुनेछ । यो प्रदेशबाट संघीय समाजवादी फोरमको पनि १२ मत हुनेछ । स्थानीय तहका १६ र प्रदेशसभाका ४ गरि फोरमका १६ मतदाता छन् । यो प्रदेशसबाट राजपा, राजमो र नयाँ शक्तिका पनि केही मत छन् । तर ती निर्णायकक हुने अवस्था छैन ।

प्रदेश नम्बर ६ः
प्रदेश नम्बर ६ मा एमालेको एकल बहुमत छ । यो प्रदेशमा कुल मिलाएर एमालेको ७९ मत छ । माओवादीको स्थानीय तहमा ५४ र प्रदेशसभामा १३ गरि ६७ मत जोड्दा वामपन्थी गठबन्धनको दुई तिहाई बहुमत हुनेछ ।

यो प्रदेशबाट कांग्रेसका स्थानीय तहबाट ४२ मतदाता छन् भने प्रदेशसभाबाट ६ मत जोड्दा ४८ मात्र हुन्छ । यो प्रदेशबाट राष्ट्रियसभामा कांग्रेसको प्रतिनिधित्व हुने सम्भावना कम छ ।

प्रदेश नम्बर ७ः
७ नम्बर प्रदेशमा एमालेका स्थानीय तहमा ८३ मतदाता छन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक मिलाएर एमालेका १०८ मतदाता हुनेछन् । माओवादीका स्थानीय तहमा र प्रदेशसभामा गरि ३८ मतदाता छन् । वामपन्थी गठबन्धनको यहाँ पनि बहुमत हुनेछ । यस प्रदेशमा कांग्रेसको मत कुल मिलाएर ८६ हुनेछ । यहाँ कांग्रेसले एकल संक्रमणीयबाट एक दुई सिट जित्न सक्छ ।