नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

नागरिक समाज संस्था कि राजनितिक पार्टीका भातृ संगठन ?

ओखलढुङ्गान्युज, पौष २२, ओखलढुङ्गा ।

शुक्रवार ओखलढुङ्गामा नागरिक समाज संस्थाहरुको क्षमता विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा नागरिक समाज संस्थाका प्रतिनिधीहरुले स्थानीय तहको संरचना निर्माण सगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि नागरिक समाज संस्थाहरुको थप जिम्मेवारी आएको बताएका छन् ।

स्थानीय तहको संरचना कायम भए सगै सिंहदरवारको शक्ति स्थानीय तहमा गएकोले त्यसको प्रभावकारी कार्यान्वयनका लागि नागरिक समाजसंस्थाहरुले निगरानी गर्नुपर्नेमा जोड दिएका हुन् ।

स्थानीय तह कार्यान्वयनको क्रममा नागरिक समाज संस्थाहरुको भूमिका कमजोर भएको जस्तो महशुस भएको छ । नागरिक समाज संस्थाहरु कुनै राजनितिक पार्टीका भातृ संगठन जस्तो भएको भन्दै त्यसवाट माथि उठेर नागरिकहरको सेवामा लाग्नु पर्नेमा पनि उनिहरुले जोड दिएका छन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागी पेमडोमा शेर्पाले भनिन्, “नागरिक समाज संस्थाहरु राजनितिक पार्टीका कार्यकर्ताहरु भर्तिगर्ने थलोको रुपमा परिचित हुनथाल्यो । त्यसवाट हामी मुक्त हुन जरुरी छ ।”

सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गाका अध्यक्ष टुक बहादुर श्रीमलले भने, “नागरिक समाज संस्थाहरुले गर्ने काम क्षणिकका लागि मात्र नभई त्यसको दिगोपनालाई ध्यान दिनु आवश्यक छ ।”

राष्ट्रिय कृषक समूह महासंघ ओखलढुङ्गाका अध्यक्ष हितराज कार्कीले भने, “नागरिक समाज संस्थाका सदस्यहरु नयाँ निति तथा नियमहरु बारेमा अपडेट नहुदा संस्थाको छविमा समस्या आएको छ । त्यसैले यी कुराहरुको बारेमा अपडेट हुन जरुरी छ ।”

त्यस्तै गैर सरकारी संस्था महासंघ ओखलढुङ्गाका अध्यक्ष सचना श्रेष्ठले सोच नेपालले संस्थाहरुको दिगोपनाको सगै नागरिक समाज संस्थाहरुको क्षमता अभिबृद्धि र ओखलढुङ्गामा थप परियोजना भित्राउन सहयोग गर्न आग्रह गरिन् ।

नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजना (सिएस म्याप) अन्तर्गत सोच नेपालका कार्यक्रम संयोजक उत्तम निरौलाले यो कार्यक्रम छुट्टै कुनै सामान ल्याएर दिने खालको नभएको बताए । उनले भने, “यो परियोजना नामले नै काफी छ । यसले जवाफदेही बनाउने कार्यक्रम सञ्चालन गर्छ । छुट्टै बजेट ल्याएर विकास निर्माणमा सहयोग गर्ने, नागरिकहरुलाई तुरुन्तै सामाग्री वितरण गर्ने खालको कार्यक्रम गर्दैन ।” 

निराैलाले थपे, “यसले त मात्रै क्षमता अभिबृद्धि तथा पारस्पारिक जवाफदेही बनाउने कार्यक्रममा सहयोग गर्छ । ओखलढुङ्गाका नागरिक समाजका सदस्यहरुको क्षमता अभिबृद्धि हुने कार्यक्रम सञ्चालनका लागि प्राबिधिक सहयोग गर्न तयार छ ।”

कार्यक्रम संयोजक निरौलाको बचन पछि उपस्थित नागरिक समाजका प्रतिनिधिहरुले नागरिक समाज संस्था संचालन तथा नेपालको कानूनमा उल्लेख भएका कुराहरुको बारेमा क्षमता अभिबृद्धिको कार्यक्रम आवश्यक परेको बताएका छन् ।

नागरिक समाजका प्रतिनिधिहरुको मागबारे बोल्दै  सिएस म्याप का कार्यक्रम संयोजक निरौलाले आवश्यक क्षमता अभिबृद्धिको विषय उल्लेख गरि जानकारी दिन अनुरोध गरे । आवश्यकताका आधारमा माघको दोश्रो साता सम्म क्षमता अभिबृद्धिको कार्यक्रम सञ्चालन गरिने पनि उनले बताए ।

अन्तरक्रिया कार्यक्रम नागरिक समाज पारस्परिक जवाफदेहीता कार्यक्रम (सिएस म्याप) अन्तर्गत सोच नेपालले आयोजना गरेको हो । युएसएआईडी र एफएचआई ३६० को सहयोग अन्तर्गत यो परियोजनाका काम नेपाल पत्रकार महासंघ, गैह« सरकारी संस्था महासंघ, ईन्सेक, सोच नेपाल लगायतका नागरिक समाज संस्थाहरुले गर्दै आएका छन् ।