नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

हलेसीमा भिषण आगलागीवाट करोडौको क्षति

ओखलढुङ्गान्युज, पौष १९ हलेसी ।
पूर्वको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा मंगलबार साँझ भएको आगलागीमा करोडौको क्षति भएको छ । आगलागिवाट बजारका चारवटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने तीनवटा घरमा आंशिक क्षति पुगेको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी जानकारी दिनुभयो ।

साँझ साढे ७ बजेबाट शुरु भएको आगोले प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राईको घरमा आंशिक क्षति पुर्याएको नगर प्रमुख इवन राईले बताए । आगो नियन्त्रणमा लिन नजिकैको एउटा घर भत्काइएको थियो ।

ग्यास विस्फोट भएर सुरु भएको आगलागी नियन्त्रणका लागि साढे दुई घण्टा लागेको प्रजिअ अधिकारीले बताउनुभयो । मगम राईको घरबाट आगलागी शुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगो नियन्त्रण गर्न सदरमुकाम दिक्तेल र छिमेकी जिल्ला ओखलढुंगाबाट समेत दमकल मगाइएको थियो । आगो नियन्त्रणमा आएकाले ओखलढुंगाबाट मगाइएको दमकल बाटोबाटै फर्काइएको छ ।

सदरमुकामबाट ३८ किलोमिटर दूरीमा रहेको हलेसीबजारमा भएको आगलागीमा परेर विशाल राई र चन्द्रेश्वर चौधरी सामान्य घाइते भएका छन् । पीडित परिवारलाई तत्काल राहत र घाइतेलाई उपचारका लागि रेडक्रस र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । घटनाबारेको थप विवरण भने आउन बाकी रहेको छ ।