नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

पूर्वडीआईजी सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र

ओखलढुङ्गान्युज, पौष १९ काठमाडौं ।

कार्य सम्पादन मूल्यांकनमा कीर्ते गरेको अभियोगमा पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न पूर्जी जारी भएको छ । काठमाण्डौ प्रहरी परिसरले सिलवाललाई पक्राउ पूर्जी जारी गरेको हो ।

केही समय अगाडी कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको थियो । जाहेरी परेपछि अनुसन्धानका क्रममा सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरिएको काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकले बताए ।

सांसद समेत रहेका सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्राचार गरिएको छ । आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै सर्वोच्च अदालत गरेका नेपाल प्रहरीका तत्कालीन डीआईजी सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको ठहर गर्दै सर्वोच्चले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भनेको थियो ।

सर्वोच्चको फैसलाको पूर्णपाठ आए लगतै काठमाडौं प्रहरी परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भयो । सर्वोच्चमा मुद्दा हारेपछि एमाले प्रवेश गरेका सिलवाल भने ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्य विजयी भएका छन् । यता पक्राउ पूर्जी जारी भएपनि सिलवाल भने केही दिनदेखी ब्यक्तिगत कामको सिलसिलामा विदेशमा रहेको पारिवारिक श्रोतले बताएको छ ।