नेपाली समय Loading...२०८२ बैशाख १ सोमबार

अफगानिस्तानको काबुलमा आत्मघाती विस्फोटमा ४१ को ज्यान गयो

ओखलढुङ्गान्युज, पौष १६, काबुल (बिबिसी)
अफगानिस्तानको राजधानी काबुलको एक सिया सांस्कृतिक संस्थामा बिहीबार आत्मघाती बा आक्रमण गरिएको छ । विहिबार गरिएको आत्मघाती बम आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । आक्रमणमा परी कम्तीमा ३० जना घाइते भएका छन् ।

बम आक्रमणबाट अफगानिस्तानको मिडिया अफगान भ्वाइस समाचार संस्थामा समेत क्षति पुगेको जनाइएको छ । आक्रमणको इस्लामिक स्टेट (आईएस) ले जिम्मेवारी लिएको छ । उनीहरूले अफगानिस्तानमा सोभियत संघको ३८ औं वर्षगाँठको अवसर पारेर आक्रमण गरेको अधिकारीको भनाइ छ । प्रपोगान्डा माध्यम अमाकमा आईएसले सिया केन्द्रमा एक आत्मघाती र अन्य दुई बम हमला गरेको उल्लेख गरेका छन् ।

अफगान आन्तरिक मन्त्रालयले पहिलो आत्मघाती आक्रमणलगत्तै अन्य दुई विस्फोट भएको जनाएको छ । सामाजिक सञ्जालमा विस्फोटलगत्तै पोस्ट गरिएका तस्बिरहरूमा मृतकका शव यत्रतत्र छरिएका देखिएका छन् । अधिकारीले विद्यार्थीहरू एकत्रित भएको समय पारेर आक्रमण गरिएको जनाएका छन् ।

अफगान राष्ट्रपति असरफ घानीका प्रवक्ताले आक्रमण ‘मानवताविरुद्धको अक्षम्य कार्य’ भएको जनाए । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलका दक्षिण एसियाली निर्देशक विराज पत्नइकले आक्रमणले अफगानी जनता र पत्रकारमाथि विद्रोहीको निरन्तर आक्रमण भइरहेको भन्दै निन्दा गरेका छन् । नेटोको अफगानिस्तानस्थित मिसनका प्रमुखले विद्रोहीको हमला ‘जघन्य’ भएको जनाए ।

अफगान अधिकारीका अनुसार घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरूले अस्पताल अगाडि उपचाररत घाइतेका आफन्तहरूको भीड लागेको जनाए । पहिलो विस्फोट तबायान सांस्कृतिक केन्द्रभित्र गराइएको थियो । उक्त केन्द्रका इरानका तेहरान र मस्हदमा पनि शाखा छन् ।

तर उक्त विस्फोटका कारण अफगान भ्वाइसको कार्यालयसमेत क्षतिग्रस्त भएको थियो । अफगान भ्वाइसका पत्रकार सइद अब्बास हुसेनीका अनुसार विस्फोटका कारण एक पत्रकारको तत्काल मृत्यु भएको हो ।

अफगानीस्तानमा हालैका दिनमा आईएसले सिया मुसलमान केन्द्रित आक्रमणमा तीव्रता दिएका छन् । उनीहरूले राजधानीलगायतका कतिपय स्थानमा सिया धर्मसँग सम्बन्धित संगठन तथा मस्जिदहरूमा आक्रमण बढाएको छ । केही महिनायता आईएसले काबुलको पश्चिममा सिया मुस्लिमको बाहुल्य रहेको स्थानमा नियमितजसो आक्रमण गर्दै आएका छन् । जसका कारण सिया समुदायले सुरक्षा प्रदान गर्न नसकेको भन्दै राष्ट्रपति घानीको आलोचन गर्दै आएका छन् ।

विद्रोहीको आक्रमणका कारण अफगानिस्तान पत्रकारहरूका लागि पनि असुरक्षित हुँदै गएको छ । गत नोभेम्बरमा संसद टेलिभिजनको कार्यालयमा बन्दुकधारीले गरेको आक्रमणमा एक जनाको मृत्यु भएको थियो ।