नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

देखिने गरि विकासका लािग सहकार्य आवश्यक

ओखलढुङ्गान्युज, पौष १५ ओखलढुङ्गा ।
विकास र समृद्धिका लागि नागरिक समाज र सञ्चार जगतबीचमा प्रभावकारी समन्वय र सहकार्य आवश्यक भएको सरोकारवालाहरुले बताएका छन् । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत इन्सेकले शनिवार ओखलढुंगामा आयोजना गरेको विकासका लागि नागरिक समाज र सञ्चारजगतबीच सहकार्य विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्याक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । नागरिक समाजका संस्थाहरु र स्थानीय सरकारका कामका बारेमा संचारमाध्यमले अध्ययन गरेर खोजमुलक समाचार सम्प्रेषण गर्न पनि सहभागीहरुले आग्रह गरेका छन् ।

नागरिक समाजका संस्थाहरुका काम र उनीहरुले परियोजना छनौट गर्दाका प्रकृयादेखि नै सञ्चारमाध्यमको खबरदारी आवश्यक रहेको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मेघहरि आचार्यले बताए । उनले नागरिक समाजका संस्थाहरुको काम र स्थानीय सरकारको कार्यशैली नमिलिरहेको बताए । स्थानीय सरकार गैर सरकारी संस्थाहरुलाई नियन्त्रण गर्ने सोचले अघि बढेको हो कि भन्ने आशंका जन्मिएको बताए ।

गैर सरकारी संस्था महासंघका पूर्व अध्यक्ष हितराज कार्कीले स्थानीय सरकारसँग नागरिक समाजका संस्थाहरुको समन्वय प्रभावकारी नभएकाले सामाजिक विकासको गति मन्द भएको बताए । उनले स्थानीय सरकार र नागरिक समाजका संस्थाहरुको सहकार्य र विकासका एजेण्डालाई उठाउनु पर्ने बताए । नागरिक समाजका संस्थाहरु सञ्चालनका लागि नीतिगत व्यवस्था र कार्यन्वयनको अवस्थाका सवाल सञ्चार माध्यममा उठाउन सुझाव दिए ।

सबल कार्यक्रमका बरिष्ठ जिल्ला संयोजक इन्द्र तामाङले नागरिक समाजका संस्थाहरुले राज्यलाई सहयोग गर्न राज्यका नीति अनुसार नै काम गर्ने बताए । उनले नागरिक समाज संस्थाहरु राज्यको विकल्प नभएर राज्यको सहयोगीको रुपमा बुझ्न आग्रह गरे ।

गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सचना श्रेष्ठले नागरिक समाजका संस्थाहरुले संचालन गरेका धेरैजसो कार्यक्रम प्रभावकारी भएको बताए । श्रेष्ठले स्थानीय तहका काम समेत सन्तोषजनक नभएको गुनासो पनि आएका बताइन् ।

उद्योग वाणिज्य संघका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठले विकास निर्माण स्थानीय सरकार आए पनि परिवर्तन अनुभूति हुने गरि विकासका काम नभएका भन्दै यसतर्फ संचार जगतले सचेत गराउन माग गरे । ठूला मुद्धालाई मात्र समाचार बनाउने नभई सामान्य खालका विषय पनि समाचार बनाउन र त्यसलाई फलोअप गर्न पनि उनले सुझाए ।

कान्तिपुर दैनिकका उप सम्पादक कुम्भराज राईले सञ्चार जगतले सवाल मात्र उठाउने र त्यस्ता सवाल लिएर नागरिक समाजले पैरवी गरे मात्रै विकासका काम प्रभावकारी हुने बताए । कार्यन्वयन गर्ने काम पत्रकारको नभएकाले समाचारमा सवाल मात्र उठाइने तर यसबारेमा नागरिक समाजले खवरदारी गरेर कार्यन्वयनमा दवाव दिनु पर्ने सुझाव दिए ।

सुनकोशी गाउँपालिका ९ का वडा अध्यक्ष झनक कार्कीले नागरिकले अनुभूति हुने गरी काम गर्न वडालाई आर्थिक कारोबारको अधिकार हुनु पर्ने बताए । सुनकोशी ६ का वडा अध्यक्ष गोविन्द तामाङले आगामी दिनहरुमा गैर सरकारी संघसंस्थाहरुले आफ्ना योजना गाउमा लैजादा स्थानीयहरुको आवश्यकताका आधारमा लैजान अनुरोध गर्दै यस्ता विषयहरुमा पनि सञ्चार माध्यमहरुले आवाज उठाई नागरिकलाई सचेत बनाउन आग्रह गरे ।

उनले अहिले वडाले सिफारिस मात्र गर्ने योजना कार्यन्वयनका लागि विजियोजित बजेट गाउँपालिकाको केन्द्रमा रहेकाले अझै नागरिककको पहुँच नपुगेको धारणा राखे । कार्यक्रममा नागरिक समाजका संस्थाका प्रतिनिधी, निजी क्षेत्र, पत्रकार र जनप्रतिनिधीहरु सहभागी सहभागिता जनाएका थिए ।