नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

स्मार्टफोन क्यान्सरको कारक बन्न सक्छ ?

ओखलढुङ्गान्युज, पौष १४ काठमाण्डौ
विश्वव्यापी रुपमा विभिन्न मोडलका मोवाईलहरुको उत्पादन र प्रयोग तिब्र रुपमा भैरहेको छ । अन्य कुराहरुभन्दा मानव सभ्यताको लागि अनिवार्य आवश्यकताको कुरा जस्तै भैसक्यो मोवाईल । पछिल्लो समय विश्वका युवा पुस्ताहरुमा प्रायगरि स्मार्टफोनको प्रयोग दर उच्च बनेको छ । गुगलमा सर्च गरि सहजता पूर्वक देशविदेशका खबर तथा सूचनाहरु लिने देखी लिएर सेल्फी खिच्न पनि स्मार्ट फोनको उच्च प्रयोग हुन थालेको छ ।

स्मार्टफोनको प्रयोग दर उच्च भएसगै पछिल्लो समयमा त्यसले निकाल्ने विकिरणका कारण क्यान्सरको शिकार समेत बनाउछ भन्ने हल्लाहरु चल्न थालेका छन् । तर, के कुनै स्मार्टफोन क्यान्सरको कारक बन्न सक्छ ? सामान्यरुपमा भन्दा यो सम्भव छैन । अहिलेसम्म गरिएका अधिकांश सर्भेक्षणहरुले देखाएका छन् कि फोनहरुले रेडियो वेभको कारण विकिरण उत्सर्जन गर्छन्, तर यस्तो विकिरणले डिएनएलाई नै बिगार्ने क्षमता राख्दैन ।

प्रमुख प्रश्न भनेको तपाईंको फोनबाट आइरहेको विकिरण कति बलशाली छ भन्ने हो । आफ्नो फोनले कति विकिरण फ्याँकिरहेको छ भन्ने थाहा पाउन तपाईंले यसको एसएआर (स्पेसिफिक एब्जप्र्सन रेट) थाहा पाउनुपर्छ ।

के हो एसएआर ?
जब इलेक्ट्रोम्याग्नेटिभ तरंगहरु ग्रहण र प्रशारण हुन्छ, त्यहाँ केही प्रतिशत क्षय हुन्छ । क्षय भएको इलेक्ट्रोम्याग्नेटिभ तरंगको यो हिस्सा यस वरिपरि रहेका तन्तुहरुले सोस्छन् । एसएआर भनेको त्यो दर हो जुन दरमा इलेक्ट्रोम्याग्नेटिभ तरंगहरु शरीरले सोस्छ । फोनहरुमा ताररहित नेटवर्कमा काम गर्नका लागि रेडियो ट्रान्समिटर र रिसिभर रहेका हुन्छन् । त्यसैले तिनीहरुले रेडियो तरंगहरु उत्सर्जन गर्छन् । यी रेडियो तरंगहरु हानीरहित हुन्छन् ।

अमेरिकाको फेडेरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले १.६डब्लुरकेजी तय गरेको छ । यसको अर्थ १.६ भन्दा मुनी एसएआर भएका फोनहरु राम्रा हुन् । स्मार्टफोनको प्रयोग गर्दा नेपालकै केही स्थानहरुमा ब्लाष्ट समेत भएर मानिसको मृत्यु समेत भएको अबरहरु पनि आएका छन् । तर त्यसको आधिकारीक पुष्ट्याई हुन सकेको छैन ।

आफ्नो फोनको एसएआर कसरी चेक गर्ने ?
अहिले कुनै पनि फोनमा एसएआर उल्लेख गर्नुपर्ने अनिवार्यता छ । एसएआर मूल्य थाहा पाउनका लागि सेलफोनको प्याकेजिङमा फर्केर हेर्नुपर्ने हुन्छ । यो त्यहाँ उल्लेखित हुन्छ । धेरै फोन उत्पादकहरुले आफ्नो वेवसाइटमा पनि यो उल्लेख गरेका हुन्छन् ।

यसका लागि अर्को सजिलो उपाय पनि छ । तर, यसले एन्ड्रोइड फोनमा मात्रै काम गर्छ । अन्य मोवाईलहरुमा भने काम गर्दैन ।

–फोनको डायलर वा फोन एप खोल्नुस
–अब *#07# डायल गर्नुस । यसपछि तपाईंको फोनको एसएआर देखिनेछ ।

त्यसो भए कति एसएआर उचित हो ?
जति कम भयो त्यति राम्रो हो । तर, माथि उल्लेख गरिए झैं अमेरिकाको एफसीसीले १.६ लाई पर्याप्त मानेको छ । त्यसैले यदि तपाईंको फोनको एसएआर भ्यालु १.२ जति छ भने कुनै चिन्ता लिनु पर्दैन । अहिले आएका फोनहरुको एसएआर प्राय ०.५ देखि ०.६ सम्म हुन्छ । ठूला ब्रान्डहरुको एसएआर न्यूनतम हुन्छ । यसका अतिरिक्त तपाईं आफ्नो फोनमा कुरा गर्दा एयरफोनको प्रयोग गरेर पनि यसको विकिरण एक्स्पोजरलाई न्यूनीकरण गर्न सक्नुहून्छ ।