नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

गाँउपालिकाको केन्द्र टुङ्गो लगाउन मतदान

ओखलढुङ्गान्युज, पौष १३ खोटाङ

गाँउपालिकाको केन्द्र कहाँ बनाउने भन्ने विवाद आएपछि खोटाङमा मतदान गरिएको छ । खोटाङको दिप्रुङ गाउँपालिकाको केन्द्र र नामको विवाद हल गर्नका लागि बिहीबार चुनाव गरिएको हो ।

गाउँपालिकाको केन्द्र दिप्रुङ गाउँपालिका –५ तृतिया भञ्ज्याङमा राख्ने वा दिप्रुङ गाउँपालिका –५ कै याङ्शोलाटार राख्ने भन्ने विषयमा विवाद चुलिएपछि गाउँपालिकाको गाउँसभाले चुनावका माध्यमबाट गाउँपालिकाको केन्द्र टुंगो लगाएको हो ।

आज भएको चुनावले दिप्रुङ गाउँपालिकाको केन्द्र याङशोलाटार बनाउने र नाम दिप्रुङ चुइचुम्मा गाउँपालिका राख्ने टुंगो लगाएको छ । चुनावमा तृतिया भञ्ज्याङ केन्द्र बनाउने पक्षमा १७ मत र याङशोलाटार केन्द्र बनाइनुपर्ने पक्षमा १८ मत खसेको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । चुनावमा ३६ मध्ये ३५ जनाले भाग लिएका थिए ।

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले दिप्रुङ गाउँपालिकाको केन्द्र दिप्रुङ गाउँपालिका –५, को तृतिया भञ्ज्याङमा बनाउन सिफारिस गरे अनुरुप कार्यालय स्थापना भए पनि गाउँपालिकाको केन्द्र छेउमा बनाएको भन्दै डाँडागाउँ, टेम्मा र याम्खालगायतका स्थानीयले विरोध गर्दै आएका थिए ।