नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

खोटाङ अस्पतालको करोडौको समान सस्तोमा लिलामी घटना ढाकछोप गरिदै

ओखलढुङ्गान्युज, पौष १२ खोटाङ 

केही समय अगाडी जिल्ला अस्पताल खोटाङले स्वास्थ्य कार्यालय अन्तर्गतका करोडौको समानहरु सस्तो मूल्यमा लिलाम गरेको छ । जिल्ला अस्पतालले करोडौको समानलाई सस्तो मूल्यमा लिलामी गरेपछि त्यसको विरुद्धमा गुनासोहरु देखापरेका थिए । तर जिल्ला अस्पताल खोटाङले करोडौंको उपकरण सस्तो मूल्यमा लिलाम गरिएको घटनालाई ढाकछोप गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय खोटाङ अन्तर्गतका विभिन्न कार्यालय उपकरणहरु २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको घटनाको विषयमा छानविन गर्नका लागि स्वास्थ्य मन्त्रालयले एक छानविन समिति गठन गरेको थियो । तर स्वास्थ्य मन्त्रालयले गठन गरेको छानविन समितिले ‘फल्ट’ नदेखिएको प्रतिवेदन बुझाएपछि दोषी पत्ता नलाग्दै लिलाम प्रकरणलाई ढाकछोप गर्दै सामसुम बनाइएको छ ।

एक्स–रे, भिडियो एक्स–रे, जेनेरेटर, एनेस्थेसिया ट्रली र बेड लगायतका उपकरण र सामान सस्तो मूल्यामा लिलाम गरिएको थियो । अस्पतालका महत्वपूर्ण र करोडौको समान सस्तोमा लिलाम भएको भन्दै आवाज उठेपछि स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम लामिछानेको संयोजकत्वमा बनेको समितिले छानविन गरेको थियो ।

कार्यालय प्रमुख संयोजक रहेको लिलाम बिक्री उपसमितिले २०७२ फागुन १६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम बिक्रीका लागि १५ दिने सूचना टाँस गरेर २०७२ चैत्र २ गते लिलाम बिक्री गरेका थिए ।

अस्पतालका चार ट्रक उपकरण लिलाम बिक्री गरिएपनि सरोकारवालालाई भने ६ महिनापछि मात्र जानकारी गराइएको थियो । सार्वजनिक महत्वका बिक्री गरिएको भन्दै उद्योग वाणिज्य संघ, खोटाङ एकता सेवा समाज, नागरिक समाज र राजनैतिक दलले चर्को विरोध गरेपछि प्रशासनले सामान खरिदकर्ता रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलका विनोद दाहाल, बाम्राङका राजन केसी र अल्छेढुंगाका जगतबहादुर खत्रीको घरमा राखिएका उपकरण २०७३ साल असोज १२ गते सिलबन्दी गरेको थियो ।

स्थानीयहरुले भने लामो समयसम्म प्रतिवेदन नआउँदा कतिपयले उपकरण लिलाम प्रकरणलाई ढाकछोप गर्दै संलग्न दोषीलाई उन्मुक्ती दिनका लागि छानविनको नाटक रचिएको दाबी गरेका छन् ।