नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

काठमाण्डौ मैतिदेवीमा बस दुर्घटना, १७ घाइते, रुपन्देहीको दुर्घटनामा चालकको मृत्यु

ओखलढुङ्गान्युज, पौष ११ काठमाडौं ।
काठमाडौंको मैतिदेवीमा मंगलबार बिहानै बस दुर्घटना भएको छ । दुर्घटनामा परि १७ जना घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुलाई उद्धार गरि उपचारका लागि नर्भिक र ट्रमा सेन्टर पठाइएको छ । घाइते भएका ८ जनाको नर्भिक अस्पताल थापाथलीमा र ९ जनाको वीर अस्पतालमा उपचार भैरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मंगलबार बिहान सवा ३ बजे मैतिदेवीस्थित सेतोपुलमा बिजुलीको पोलमा ठोक्किएर सडकमै पल्टिएको हो । राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय नजिकै ट्रान्समिटर जडान भएको बिजुलीको जोर खम्बामा बस ठोक्किएको थियो ।

यसैबीच गएराति पौने १ बजे रुपन्देहीको सिद्धार्थ नगरपालिका २ मेउडिहवा चोकमा लु २६ प ५०४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक रुपन्देही देवदह नगरपालिका ६ खैरेनि बस्ने २२ वर्षीय अमृत पौडेल रहेका छन् ।