नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

लाग्यो टुङ्गो समानुपातिक सिटको पनि

ओखलढुङ्गान्यूज, पौष ९ काठमाण्डौ

पौष महिनाको पहिलो हप्ता सकिदा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मतगणना सकिएको छ । प्रतिनिधी तथा प्रदेशसभाको पहिलोचरणको निर्वाचन सम्पन्न भएको करिब १ महिना वित्नै लाग्दा निर्वाचन आयोगले राजनितिक दलहरुले पाउने समानुपातिक सिटको पनि टुङ्गो लगाएको छ ।  प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ धेरै सिट जितेका दलहरुले नै समानुपातिक तर्फ पनि आफ्नो बर्चश्व कायम गरेका छन् । प्रतिनिधीसभामा आफ्नो उपस्थिती देखाउन कूल सदरमतको ३ प्रतिशित र प्रदेशसभामा सिट कायम गर्न १ दशमलव ५ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ ।

मंसिर १० र २१ गते भएको चुनावमा एक करोड ५ लाख भोट खसेको थियो । प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मात्र ३ प्रतिशत कटाएकाले प्रतिनिधिसभामा समानुपातिकबाट यीनै पाँचदलका मात्र सांसद हुनेछन् ।

प्रतिनिधिसभातर्फ प्रत्यक्ष ८० सिट जित्दै पहिलो दल बनेको एमाले समानुपातिकमा पनि पहिलो नै भएको छ । एमालेले खसेको कुल सदर मतको ३५ प्रतिशत मत ल्याएको छ । त्यस्तै प्रत्यक्षमा २३ सिट मात्र जितेर तेश्रो स्थानमा धकेलिएको कांग्रेस समानुपातिकतर्फ भने दोस्रो भएको छ । उसले ३४ प्रतिशत मत पाएको छ । प्रत्यक्ष तर्फ नेकपा माओवादी केन्द्र दोश्रो भएपनि समानुपातिक समेतको परिणामलाई हेर्दा कांग्रेस दोश्रो दल भएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा भने १४ प्रतिशत मत मात्रै ल्याएको छ । प्रत्यक्ष तर्फ दोश्रो स्थान कायम गरेको माओवादी केन्द्रको समानुपातिकमा पनि दोश्रो हुने चाहनामा ब्रेक लागेको छ । उता संघीय समाजवादी फोरम र राजपाले ५ प्रतिशत हाराहारीमा मत पाएका छन् ।

३ प्रतिशत पनि मत नकटाएका विवेकशील साझा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा लगायतका दलले समानुपातिकमा पाएको मतबाट एकजना पनि सांसद पठाउन पाउँदैनन् । यी दलले पाएको मतको हिसाब नहुने भएकाले ३ प्रतिशत मत कटाएका दलहरुले थप सिट पाउनेछन् ।

जसअनुसार प्रतिनिधिसभामा एक सय १० समानुपातिक सांसदमध्ये सरदरमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७ तथा संघीय समाजवादी फोरम र राजपा नेपालले ६र६ सिट पाउनेछन् । सानादलहरुले पाएको मतको गणना नभएको कारण ठूला भनिएका दलहरुले बोनस सहित समानुपातिकको सिट पाएका हुन् । प्रत्यक्षबाट थोरै मात्र महिला सांसदले जितेको संघीय संसदमा दलले पाएका यी सिटमा सबैजसो महिलालाई चयन गर्नुपर्ने अवस्था छ ।

प्रदेशसभामा समानुपातिकतर्फ सिट कायम गर्न कुल सदर मतको १ दशमलव ५ प्रतिशत मत कटाउनुपर्छ ।

प्रदेश नम्बर १

एक नम्बर प्रदेशमा बन्ने ९३ सदस्यीय प्रदेशसभामा ३७ जना सांसद समानुपातिकबाट छानिदै छन् । दलहरुले प्राप्त गरेको मतअनुसार ३७ सिटमध्ये एक नम्बर प्रदेशमा एमालेले १५, कांग्रेसले १३ माओवादीले ६,  संघीय समाजबादी फोरमले २ र राप्रपाले १ सिट पाउने भएका छन् ।

प्रदेश नम्बर २

प्रदेश नम्बर २ मा १ सय ७ सदस्यीय प्रदेशसभा बन्दैछ । जसमा प्रत्यक्षबाट ६४ र बाँकी ४३ जना समानुपातिकबाट छानिदैछन् । समानुपातिकतर्फको ४३ सिटमा दुई नम्बर प्रदेशमा पहिलो दल कांग्रेस, दोस्रो राजपा र तेश्रो संघीय समाजवादी भएका छन् ।

यो प्रदेशमा कांग्रेसले सबैभन्दा धेरै ११, राजपा र फोरमले ९–९ सिट पाउने छन् । अरु प्रदेशमा अघि देखिएको एमाले यो प्रदेशमा चौथो स्थानमा खुम्चिएको छ । उसले ८ र माओवादीले ५ जना सांसद पाउनेछन् । यस्तै नेपाल संघीय समाजवादी पार्टीले पनि यस प्रदेशमा एक सिट पाउनेछ ।

प्रदेश नम्बर ३

प्रदेश नम्बर तीनमा एक सय १० सदस्यीय प्रदेशसभा गठन हुनेछ । जसमध्ये ६६ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन् भने ४४ जना समानुपातिकबाट चुनिनेछन् । प्रत्यक्षतर्फ एक्लै झण्डै बहुमत ल्याएको एमालेले यो प्रदेशसभामा समानुपातिकमा पनि सबैभन्दा धेरै सांसद पाउनेछ ।

वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएको विवेकशिल साझा पार्टीले पनि यो प्रदेश नं. ३ मा सिट कायम गरेको छ । प्रदेश नम्बर ३ मा एमालेले १७, कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ र राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक सिट पाउने भएका छन् ।

प्रदेश नम्बर ४

प्रदेश नम्बर चारको समानुपातिकतर्फ पनि एमाले नै पहिलो दल बनेको छ । प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सहित यो प्रदेशमा ६० सदस्यीय प्रदेशसभा गठन हुँदैछ । चार नम्बर प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ तथा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले १–१ सिट पाउने छन् ।

प्रदेश नम्बर ५

५ नम्बर प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा बन्दैछ । जहाँ ५२ जना प्रत्यक्षबाट निर्वाचित भएका छन् भने समानुपातिकबाट ३५ सांसद आउनेछन् । यो प्रदेशमा एमाले र कांग्रेसले झण्डै बराबर जस्तै मत पाएका छन् । त्यसकारण एमालेले १३, नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले ६, संघीय समाजबादी फोरमले २ र राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले १–१ जना सांसद पाउने भएका छन् ।

प्रदेश नम्बर ६

६ नम्बर प्रदेशमा सबैभन्दा सानो अर्थात ४० सदस्यीय प्रदेशसभा बन्नेछ । यो प्रदेशमा प्रत्यक्षबाट २४ सांसद चुनिइसकेकाले समानुपातिकबाट १६ जना सांसद चुनिनेछन् । यो प्रदेशमा पनि समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेसले दोस्रो मत पाएका छन् । निर्वाचन आयोगको आँकडा अनुसार एमाले र कांग्रेसले समान ६–६ तथा माओवादीले ४ सिट पाउनेछन् । राप्रपा र नेमकिपाले ६ नम्बर प्रदेशमा १ दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाएपनि सिट थोरै भएका कारण कुनै सिट पाउदैनन् ।

प्रदेश नम्बर ७

सात नम्बर प्रदेशमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । यो प्रदेशमा समानुपातिकबाट कांग्रेसले ८, एमालेले ७, माओवादीले ४ र राजपा र राप्रपाले एक एक सिट पाउनेछन् । प्रत्यक्षतर्फ ३२ समानुपातिकबाट २१ गरी सात नम्बर प्रदेशमा ५३ सदस्यीय प्रदेशसभा बन्नेछ ।

केन्द्रिय संसदमा जस्तै प्रदेशसभामा पनि महिलाको उपस्थिति ३३ प्रतिशत अनिवार्य गरिएको छ । प्रदेशसभामा पनि प्रत्यक्षतर्फ महिला कम मात्र चुनिएकाले समानुपातिकबाट धेरै महिलाको नाम सांसदका रुपमा जाने निश्चित छ ।