नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

म्यादी प्रहरीको मृत्युपछि कालिकोट प्रशासनले लायो कर्फ्यु

ओखलढुङ्गान्युज, पौष ८ कालिकोट ।

कालिकोटमा प्रदर्शन चर्किएपछि कफ्र्यूको घोषणा गरिएको छ । प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका म्यादी प्रहरी विवेक ऐडीका आफन्त र स्थानीयबासिन्दाले प्रदर्शन चर्काएपछि कालिकोटमा कर्फ्यु घोषणा गरिएको हो ।

मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको माग गर्दै शनिबार बिहानैदेखि स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए । प्रदर्शन चर्किदै गएपछि अवस्था नियन्त्रणबाहिर जान नदिन शनिबार दिउँसो ४ बजेदेखि आईतबार बिहानसम्म कर्फ्यु घोषणा गरेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रशासनले कर्फ्यु घोषणा गरेपछि कालिकोटको मान्म बजारमा कसैलाई पनि घर बाहिर ननिस्कन आग्रह गरेको छ । कम तलब पाएको भन्दै शुक्रबार दिउँसो म्यादी प्रहरीले प्रदर्शन गरेका थिए । म्यादीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सान्नी त्रिवेणी गाउँपालिका ४ का विवेक ऐडीको ज्यान गएको थियो भने ६ जना घाइते भएका छन् ।

मृत्तक ऐडीको शब जिल्ला अस्पताल कालिकोटमा राखिएको छ । मृत्तकका आफन्तले शब बुझ्न नमानेपछि क्षेत्रीय प्रशासक सुरेश प्रधानसहित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, क्षेत्रीय प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको क्षेत्रीय प्रमुखबीच छलफल भइरहेको छ ।