नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

सांसदहरुलाई चम्पादेविको पाँच किलोको माला

विवेश श्रेष्ठ, पौष ३, फेदिगुठ ।

निर्वाचन सम्पन्न पश्चात विजयी भएका सांसदहरु मतदाता भेटघाटका क्रममा निकै व्यस्त रहेका छन् । अहिले ओखलढुङ्गा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा ख मा ओखलढुङ्गाका तर्फवाट प्रतिनिधी सभामा निर्वाचित सांसद यज्ञराज सुनुवार र प्रदेशसभा ख का सांसद मोहन कुमार खड्का निकै व्यस्त रहेका छन् । त्यस्तै प्रदेशसभा क मा पनि निर्वाचित सांसद अमिरबाबु गुरुङ निकै व्यस्त रहेका छन् ।

आफुले भोट हालेर जिताएको सांसदहरु आफ्नै विजयी भएपश्चात आफ्नै गाँउघरमा आफुहरुलाई भेट्न आउदा मतदाताहरु निकै खुशी र उत्साहित भएका छन् । अहिले निर्वाचित सांसदहरुलाई मतदाताहरुले प्रदान गर्ने फुलमाला र खादकहरु लाउन भ्याईनभ्याई छ । आफुले विगतमा भोट हालेर जिताएका सांसदहरु एकैचोटी अर्को चुनावमा मात्रै आउने गर्थे । तर यसपटक चुनाव सकिएको दुईहप्ता पनि नवित्दै आफ्नो घरदैलोमा आएको खुशी लागेको फुलमालाले स्वागत गरेका चम्पादेवी ५ की राम कुमारी तामाङले बताईन् ।

विजयी भएका सांसदहरु यही मौकालाई सदुपयोग गर्दै आफूहरुले चुनावी दौरानमा गरेका बाचा तथा कसमहरुलाई ब्यबहारमा उतार्ने पुन कसम खादैछन् । नेताहरुले कसम खादै गर्दा स्थानीय नागरिकहरुले कतै निवेदन मार्फत र कतै मौखिक रुपमा नै आफ्ना मागहरुलाई प्रस्तुत गर्दै माग पुरा गर्न दवाव दिईरहेका छन् । सांसदहरु ती माग र आफुले बोलेका बाचाहरुलाई संसदको बैठकमा उठाउने बाचा गर्दैछन् ।

यसै क्रममा चम्पादेवी गाँउपालिका वडा नं. ५ का नागरिकहरुले सांसदहरुलाई पाँच किलोको माला लगाईदिएका छन् । आफ्नो गाँउपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको अवस्था नाजुक छ । माननियहरुले आफ्नो पाँचवर्षे कार्यकाल भित्र ति कुराहरुलाई उल्लेखनिय रुपमा पुरागर्नु हुनेछ भन्ने विश्वासका साथ गाँउपालिकाको प्रतिनिधित्व गर्दै वडा नं. ५ का तर्फवाट माला लगाईदिएको स्थानीय प्रेम तामाङले वताउनुभयो ।

तामाङले भन्नुभयो, “यो माला हामीले चम्पादेवी गाँउपालिकाको तर्फवाट प्रतिनिधित्व गर्दै लगाईदिएका छौं । चम्पादेवी गाँउपालिका सगै हाम्रो यो वडा नं. ५ मा भएको समस्यालाई दर्शाउदै यो माला लगाईदिएका हौ । आशा छ हाम्रा मागलाई पुरा गर्नुहुनेछ ।”

स्थानीय बासीको मागलाई सम्बोधन गर्दै प्रतिनिधीसभाका सांसद यज्ञराज सुनुवारले यो मालाले आफूहरुलाई थप जिम्मेवारीको बोध गराएको बताउदै सम्भव भएसम्मका सबै मागहरुलाई आफ्नो कार्यकालमा सम्बोधन गर्ने र आफुले सम्बोधन गर्न नसक्ने कुराहरुलाई संसदमा उठान गर्ने बाचा समेत गर्नुभयो ।

त्यस्तै, प्रदेशसभा ख का सांसद मोहन कुमार खड्का हिमशिखरले वडामा रहनुभएका वडा अध्यक्ष तथा गाउपालिकाहरु स्थानीय सरकार भएको बताउदै स्थानीय सरकारले पुरा गर्न नसकेका कुराहरुलाई पुरागर्न आफु सदैव लागि पर्ने बाचा समेत गर्नुभयो ।

निर्वाचनको मतपरिणाम सार्वजनिक भएको झण्डै दुईहप्ता वित्न लाग्दा पनि नेताहरु मतदाता भेटघाट कार्यक्रममा व्यस्त छन् । प्रदेशसभा ख मा प्रतिनिधीसभाका सांसद यज्ञराज सुनुवार र प्रदेश ख का सांसद मोहन कुमार खड्का हिमशिखर छन् भने प्रदेश क मा सांसद अमिरबाबु गुरुङ एक्लै मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् ।