नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदक

ओखढुङ्गान्युज, मंसिर २८, काठमाण्डौ ।
दक्षिणी सुडानमा कार्यरत नेपाली शान्ति सेनाको टोली राष्ट्रसंघीय पदकबाट सम्मानित भएको छ । सुडानमा रहेर नेपाली सेनाले उत्कृष्ट सेवा गरेवापत नेपाली सेनालाई राष्ट्रसंघले सम्मान गरेको हो ।

दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्यगरेबापत उक्त पदक दिइएको नेपालस्थित राष्ट्रसंघीय आवासीय कार्यालयले जनाएको छ ।

रोम्बेकमा हालै आयोजित एक समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमान्डर लेफ्टिनेन्ट जनरल फ्रान्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली सुरक्षा निकायले विश्व शान्तिमा निर्वाह गरेको भूमिकाप्रति राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका तर्फबाट उनले नेपाल सरकारलाई धन्यवादसमेत दिएको विज्ञप्तिमा जनाइएको छ ।

सन् १९५८ देखि नेपालले राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना खटाउँदै आएको छ । १ लाख १९ हजार नेपाली सेनाले अहिलेसम्म विश्व शान्तिमा काम गरेका छन् । हालसम्म ४२ वटा शान्ति स्थापना कार्यमा सहभागी भइसकेको नेपाली सेना अहिले पनि १४ शान्ति मिसनमा कार्यरत छ ।