नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

U16 एसिसी क्रिकेटमा नेपालको शानदार जित

ओखलढुङ्गान्यूज, मंशिर २९ काठमाडौं ।
विहिवार सम्पन्न १६ वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल फराकिलो अन्तरले विजयी हासिल गरेको छ । थाइल्याण्डमा समूह चरण अन्तर्गतको अन्तिम खेलमा विहिवार नेपाल म्यानमारसँग ३ सय ३७ रनले विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको थियो । जवाफी ब्याटिङ मैदानमा आएको म्यानमार भने ११ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर १३ रनमै अलआउट भयो । म्यानमारलाई सस्तैमा अलआउट गर्न नेपालका नारायण जोशी र मेखबहादुर सेन थापाले समान ४–४ विकेट लिए । नेपाली बलरसामु निरिह भएका म्यानमारका ७ जना व्याट्सम्यानले कुनै रन जोड्न सकेनन् ।

यसअघि पहिले व्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको थियो । नेपालको विशाल योगफलमा कप्तान रित गौतमले नटआउट १ सय ६ रनको योगदान दिए भने प्रतिश जिसिले नटआउट ६३ र तृतराज दासले ६४ रन बनाए ।

यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको नेपाल आजको जितसँगै समुह ए को विजेता बनेको छ । नेपालले अब सेमिफाइनलमा शनिबार मलेसियासँग खेल्नेछ । अर्को सेमिफाइनल खेलमा सिंगापुर र हङकङ खेल्नेछन् ।

म्यानमारसँग यसअघि नेपालले सन् २००६ मा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । एसिसी ट्रफीमा म्यानमारले दिएको लक्ष्यलाई २ बलमा पूरा गर्दै नेपाली क्रिकेटले इतिहास रचेको थियो । १२ ओभर १ बलमा सबै विकेट गुमाउँलै म्यानमारले १० रन बनाएको थियो । ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपाल २ बलमा विजयी भएको थियो ।