नेपाली समय Loading...२०७८ माघ १३ बिहीबार

मुटु रोग जाडोमा झन् जोखिम, यसो गरे जोखिम कम हुन सक्छ ।

ओखलढुङ्गान्यूज, मंसिर २७, काठमाण्डौ ।
तपाईंलाई मुटु रोग छ भने जाडो याममा थप सचेत हुनु अत्यावश्यक छ । चिसोले मुटु रोगीलाई स्वास्थ्यसम्बन्धी उच्च जोखिम निम्त्याउन सक्छ । चिसोले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ । यो मौसममा शरीरलाई न्यानो राख्न मुटुले झन् बढी परिश्रम गर्नुपर्छ । यसैले गर्दा जाडोयाममा रक्तचापसँगै मुटुको चालसमेत बढ्छ ।

तापक्रममा कमी आउनासाथ हाम्रो शरीरको रगतको नली खुम्चिन्छ । अनि शरीरलाई न्यानो राख्न रगतको प्रवाह तीव्र हुन्छ । यो अवस्थामा रगत पनि बाक्लो हुन्छ । यस्ता परिवर्तनहरूका कारण मुटुमा समस्या उत्पन्न हुन सक्छ, खासगरी यदि तपाईंलाई पहिलेदेखि नै मुटुसम्बन्धी समस्या छ भने ।

जाडोले रगतमा समेत परिवर्तन ल्याउँछ । यसका कारण रगत जम्ने जोखिम उत्पन्न हुनुका साथै यसले हार्ट अटयाक वा स्ट्रोकरपक्षाघातसम्म गराउन सक्छ । ‘हार्ट अटयाकका दुइटा महत्त्वपूर्ण जोखिमका कारक अर्थात् रक्तचाप र रगतमा कोलेस्ट्रोलको मात्रा जाडो याममा बढ्न सक्छ,’ मुटु रोग विशेषज्ञ डा। ओममूर्ति अनिल भन्छन्, ‘यति मात्र नभई, यो मौसमले मुटुलाई जोखिममा पार्ने गरी रगत जम्नसमेत सघाउँछ ।’

विदेशमा गरिएका केही अध्ययनले गर्मीमा भन्दा जाडो याममा समग्रमा हार्ट अटयाकको घटना ५० प्रतिशतले बढ्ने देखाएका छन् । ८४ हजार १० हार्ट अटयाकका बिरामीमा गरिएको एउटा अध्ययन औंल्याउँदै डा। ओममूर्ति भन्छन्, ‘वातावरणको तापक्रममा एक डिग्री सेल्सियस घट्दा हार्ट अटयाकको जोखिम २ प्रतिशतले बढ्छ ।’


सामान्यतस् जाडो याममा रक्तचाप गर्मीभन्दा करिब ५ मिलिलिटर बढ्न सक्ने उल्लेख गर्दै उनी थप्छन्, ‘तर हामीले के बिर्सनुहुन्न भने, जसको रक्तचाप अनियन्त्रित हुन्छ उनीहरूको रक्तचापमा मुख्य गरी बिहानबिहान धेरै वृद्धि हुने गर्छ ।’

अर्कातिर, जाडोमा सिम्प्याथेटिक नर्भस सिस्टम सक्रिय हुने गर्नाले शरीरमा क्याटेकोलामिन हार्मोनको स्तर बढ्छ, जसले मुटुको चाल पनि बढाउँछ । यस्तै, शरीरमा भएको अल्फा रिसेप्टर जाडो याममा बढी सक्रिय हुने भएर पनि रक्तचापमा वृद्घि हुने डा. ओममूर्ति बताउँछन् ।

मुटुसम्बन्धी समस्या भएकाहरूले जाडो याममा बढी चिसो भएका बेला मर्निङ वाक वा इभिनिङ वाक गर्नुहुन्न । घाम लागेपछि हिँड्नु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दिनहुँ व्यायाम गर्नु वा पैदल हिँड्नुपर्छ ।

डा। ओममूर्तिका अनुसार, जाडो यामले ल्याउन सक्ने समस्याबाट मुटु रोगीहरू जोगिने मुख्य उपाय भनेकै आफ्नो शरीरलाई सकेसम्म उपयुक्त रूपले न्यानो राख्नु हो । मुटुसम्बन्धी समस्या भएकाहरूले जाडोमा घरबाहिर निस्कनुपरे एउटा मात्रै बाक्लो स्वेटर वा अन्य लुगाफाटा लगाउनुको सट्टा विभिन्न तह (मल्टिपल लेयर) भएका लुगा लगाउनुपर्छ । यसो गर्दा ताप लुगाको तहबीच धेरै बेरसम्म रहिरहन्छ र शरीर न्यानो पनि भइराख्छ । घरबाट निस्किँदा टाउको, घाँटी, कानलाई राम्ररी छोप्नुपर्छ । बाक्ला मोजा र पन्जा लगाउन भुल्नु हुन्न ।

नियमित परीक्षण

मुटु रोग भएकाहरूले जाडो याममा नियमित रूपले रक्तचाप, चिनी, कोलेस्ट्रोल आदि परीक्षण गर्नुपर्छ । आफूले जचाउँदै आएका मुटु रोग विशेषज्ञसँग समेत नियमित अन्तरालमा जचाउन बिर्सनु हुन्न । ‘डाक्टरले नभनेसम्म मुटु रोगीहरूले आफूले खाँदै आएको औषधिको मात्रा कम गर्नु वा छोड्नु हुँदैन,’ डा। ओममूर्ति सुझाउँछन्, ‘यो मौसममा विभिन्न परीक्षण प्रतिवेदनका आधारमा बिरामीलाई औषधिको मात्रा मिलाउनुपर्ने हुन्छ ।’

मदिराले भगाउँदैन जाडो

हिउँदमा जाडोको अनुभूति कम गर्न मद्यपान गर्ने अवैज्ञानिक चलन छ, जुन ठीक होइन । अझ, मुटुको रोग भएकाहरूका लागि त जाडोमा मद्यपान ज्यान जोखिममा पार्ने अवस्था हो । मदिराले न्यानो अनुभूति गराए पनि मद्यपानपछि हाम्रो शरीर चिसो भइरहेको हुन्छ । यसले हाम्रो मनमस्तिष्कलाई न्यानोपनाको गलत अनुभूति गराउने मात्र हो । मद्यपानपछि रक्तचाप र रगतमा चिनीको स्तर एक्कासि बढ्छ । त्यसैले मुटु रोगीहरूले मद्यपान नगर्नु सबैभन्दा उत्तम हुन्छ ।

रक्तचाप नियन्त्रण नभएका, हृदयाघात भएका, कोलेस्ट्रोलको समस्या भएका, अन्य दीर्घरोग पीडित र मुटु रोगीहरूले अलिकति पनि मद्यपान गर्नु नहुने डा. ओममूर्ति बताउँछन् । यस्ता व्यक्तिले मदिरा प्रयोग गर्नुअघि मुटु रोग विशेषज्ञको परामर्श लिनैपर्ने हुन्छ ।

मुटु रोगी मात्र नभई कुनै स्वस्थ व्यक्तिले समेत कम समयमै आफ्नो क्षमताभन्दा बढी मदिराको प्रयोग गर्दा मुटुसम्बन्धी जटिल समस्या उत्पन्न हुन सक्छ । यसमा हृदयाघात, मुटुको चालमा जटिल गडबडी (होली डे हार्ट सिन्ड्रोम), मस्तिष्काघात आदिको खतरा बढी हुन्छ ।

जीउलाई तीन पत्र लुगाले ढाक्ने

जाडो याममा शरीरलाई लुगाफाटाले राम्ररी ढाक्नुपर्छ । भित्री तह, इन्सुलेसन तह र बाहिरी तह गरी तीन पत्र लुगाले शरीर छोप्नुपर्ने अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले औंल्याएको छ ।

भित्री तहमा शरीरसँग टाँस्सिएको यस्तो रेसा भएको लुगा लगाउनुपर्छ जसले बढीभन्दा बढी ताप संरक्षित राख्न सकोस् र आद्र्रता नसोसोस् । ऊनी, सिल्क, पोली प्रोपेलिन आदिले सुती लुगाले भन्दा बढी ताप संरक्षित राख्छ । इन्सुलेसन ९ताप अवरोधक० तहले शरीरको तापक्रमलाई रोकिराख्न सघाउँछ ।

यो तहमा ऊनीलगायतका प्राकृतिक रेसायुक्त लुगा लगाउनुपर्छ । सबैभन्दा बाहिरी तहमा लगाइने लुगाले हावापानी आदि छेक्ने हुनुपर्छ । तर, धेरै न्यानो अनुभव हुन थालेपछि चाहिँ केही लुगा फुकाल्नुपर्छ । किनभने, पसिना बढी आए त्यसैले गर्दा शरीर चिसिन थाल्छ ।

कसरी जोगिने ?

जाडो याममा घरलाई पनि न्यानो राख्नुपर्छ । घरभित्रको तापक्रम १८ डिग्री सेन्टिग्रेडभन्दा बढी हुनुपर्ने ब्रिटिस हार्ट फाउन्डेसन (बीएचएफ) ले औंल्याएको छ । ओछयानमा पल्टँदा वा घरभित्र बस्दा ‘हट वाटर ब्याग’ लगायतका ओछयान न्यानो पार्ने उपाय अपनाउनुपर्छ । घरभित्र हुँदा पनि सक्रिय भइरहनुपर्छ । एकै ठाउँमा निकै बेर बस्दा चिसो लाग्न थाल्छ । एक ठाउँमा बढीमा एक घन्टा बसिसकेपछि उठेर घरभित्रै हिँडडुल गर्नुपर्छ । यसो गर्दा शरीर न्यानो भइरहन्छ । शारीरिक गतिविधि जति धेरै हुन सक्यो, न्यानो त्यति नै हुन्छ ।

जाडो याममा हामी सबै तातो खानपान रुचाउँछौं । यो धेरै राम्रो बानी हो । यो मौसममा नियमित रूपमा तातो खानपानसँगै सुपलगायतका अन्य तातो स्वास्थ्यवर्धक पेय उपयोग गर्नुपर्छ । यसो गर्दा ऊर्जा मिल्नुका साथै शरीर न्यानै भइराख्छ ।

यो मौसममा शरीर सुक्खा राख्नुपर्छ । पानीले भिजेका लुगाफाटाले शरीरलाई चाँडै चिसो बनाउँछन् । यो मौसममा सिरेटोबाट समेत आफूलाई जोगाउनुपर्छ । मुटु रोगीलाई जाडो याममा रुघाखोकी लागे आफै निको होला भनेर बस्नुहुन्न । तुरुन्त चिकित्सकीय सल्लाहमा औषधिलगायतका प्रक्रिया अपनाउनुपर्छ ।