नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

प्रलेसका उपाध्यक्ष एवम् पत्रकार थपलिया रिहा

ओखढुङ्गान्युज, मंसिर २६, काठमाडौं ।
प्रगतीशील लेखक संघका केन्द्रिय उपाध्यक्ष एवम् पत्रकार खेम थपलिया रिहा भएका छन् । थपलियालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार रुपैयाँ धरौटीमा सोमबार रिहा गरेको हो ।

थपलियाको गिरफ्तारी गैरकानुनी भएको भन्दै नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ दिनपछि थपलिया रिहा भएका हुन् ।

प्रगतिशील लेखक संघको कार्यक्रममा सहभागी भएर फर्कंदै गर्दा बागबजारबाट थपलियालाई गत मंशिर १ गते गिरफ्तार गरिएको थियो । थपलियालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामान्य धरौटीमा रिहा गरेको हो ।

थपलियालाई स्वागत गर्दै पत्रकार महासंघका केन्द्रिय सदस्य जैसीले विना कारण गिरफ्तार गरी २५ दिनको हिरासतमा राखिनु राज्यको कमजोरी भएको बताए । उनले बाँकी पत्रकारलाई पनि तत्‍काल रिहा गर्न माग गरेका छन् ।

सरकारले प्रेसप्रतिको अनुदार रवैया जारी राखे महासंघ आन्दोलनमा उत्रन बाध्य हुने जैसीले चेतावनीसमेत दिए । रिहाइपछि छोटो प्रतिक्रिया दिँदै पत्रकार थपलियाले आफ्नो रिहाइका लागि पहल गर्ने सबैलाई धन्यवाद दिए।