नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

मोलुङ जलविद्युत् आयोजनाको आईतवारदेखी परीक्षण प्रसारण

विवेश श्रेष्ठ, मंसिर २५, हर्कपुर ।
जिल्लाकै पहिलो जलविद्युतका रूपमा निर्मित मोलुङ जलविद्युत् आयोजनाको आईतवार प्रिटेष्ट गरिएको छ । ७ मेगावाट क्षमता भएको यस आयोजनाको आइतबारदेखि प्रिटेष्ट परीक्षण प्रसारण गरिएको हो । परीक्षण प्रसारणको नवनिर्वाचित प्रतिनिधीसभाका सांसद यज्ञराज सुनुवार, प्रदेशसभाका सांसदहरु मोहन कुमार खड्का, अमिरबाबु गुरुङ तथा पूर्व सांसद रामहरि खतिवडाले अबलोकन समेत गरेका छन् ।

पूर्व तयारी स्वरुपको यो परीक्षण प्रसारण १५ दिनसम्म हुने र त्यसपछि औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी आयोजनाले गरेको छ । परीक्षण प्रसारणको क्रममा कुनै समस्या देखिएमा त्यसलाई सुधार गरी सञ्चालनमा ल्याइने पनि छ । आयोजनाको निर्माण कार्यको सुरुवात भएको २२ महिनामा केही छिटफुट काम बाहेक अरु काम सकिएकोले नियमित विद्युत प्रसारणका लागि पूर्व तयारी स्वरुपको परीक्षण प्रसारण सुरु गरिएको पनि आयोजनाले जनाएको छ ।

आयोजनाको सफलताको लागि भनि आईतवार नै आयोजना स्थलमा देवघाटधाम देखी पण्डित बोलाएर रुद्री पुजा समेत आयोजनाले गाराएको छ । मोलुङ गाउँपालिका ४ हर्कपुर, मोलुङ खोलामा निर्मित आयोजना सदरमुकामस्थित सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । त्यसका लागि आवश्यक काम भइसकेको आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका लागि एनएमबी बैंकलगायतको १ अर्ब ४० करोड रुपैयाँ लगानी रहेको छ । वर्षामा ७ मेगावाट र हिउँदमा ३ देखी ४ मेगावाट सम्म विद्युत उत्पादन हुनेछ । मोलुङ जलविद्युत् सञ्चालनमा आएपछि जिल्लालाई लोडसेडिङ मुक्त बनाउन स्थानीयले माग गरेका छन् ।

स्थानीयहरुको मागलाई सम्बोधन गराउन आफुहरुले सम्बन्धित ठाउवाट सकेको पहल गर्ने नवनिर्वाचित सांसदहरुले प्रतिबद्धता जनाएका छन् । ओखलढुङ्गा जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला बनाउने अभियान स्वरुप केही दिन अघि लिखु ४ जलविद्युत आयोजनाको पनि निर्माण कार्यको उद्घाटन भएको छ ।