नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

दोलखा र रामेछापमा पनि वामगठबन्धनको अग्रता कायमै

विमला बुढाथोकी दोलखा, तिर्थमाया तामाङ्ग रामेछाप, मंशिर २२
यतीखेर देशैभर प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका मतगणना जारी छ । यसै क्रममा दोलखा जिल्लाको प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको दुबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले फराकीलो अग्रता लिईरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार पार्वत गुरुङले २२ हजार १ सय १८ मतका साथ अग्रता लिएका छन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले ९ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् । बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङ एमालेको केन्द्रीय सदस्य हुन भने कांग्रेसका उम्मेदवार खड्का जिल्ला सभापति हुन् ।

प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विशाल खड्काले १४ हजार ४ सय १ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले ४ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार खड्का केन्द्रिय विदेश विभाग सदस्य हुन् ।

त्यसैगरी प्रदेशसभाको क्षेत्र नम्बर २ मा बाम गठबन्धनको तर्फबाट एमालेका पशुपति चौलागाईले ९ हजार ८ सय ६० मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव चौलागाईले ४ हजार ५ सय ४९ र नेकपा मालेका लालकुमार केसीले २ हजार ४ सय १६ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार चौलागाई पार्टीका पोलिटब्युरो सदस्य हुन भने मालेका उम्मेदवार केसी एमालेको तर्फबाट जिल्ला विकास समिति दोलखाको पूर्व सभापति हुन् ।

एमालेले टिकट नदिए पछि उनी अन्तिम समयमा मालेबाट निर्वाचनमा उम्मेदवार बनेका हुन् । अत्यन्त कडा सुरक्षा व्यवस्था सहित मतगणना भै रहेको र प्रदेश सभाको नतिजा भोलीसम्ममा आउन सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । अहिले प्रति घण्टा झण्डै १ हजार मत गणना भै रहेको र सरदर ५ प्रतिशत मत बदर भेटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।

रामेछापको मतगणनाको घोषित पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनका तर्फवाट उमेदवार बनेका माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठले १० हजार २ सय ८८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस पुर्ण बहादुर तामाङले ७ हजार ६ सय २० मत प्राप्त गरी पछ्याई रहेका छन् ।

घोषित पछिल्लो मतपरिणाम अनुसार । रामेछापको प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ क मा बाम गठबन्धनका शान्ति प्रसाद पौडेलले ५ हजार ८ सय ५८ मत र नेपाली काङ्ग्रेसका रत्न बहादुर कार्कीले ४ हजार २ सय १६ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नम्बर १ ख मा पनि बाम गठबन्धन कैलाश प्रसाद ढुंगेलले ७ हजार ४ सय ५२ र नेपाली काङ्ग्रेस जित बहादुर मगरले ३ हजार ४ सय ७ मत प्राप्त गरेका छन् ।