नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

आज नेवारी समुदायको मुख्य चाड ‘योमरी पुर्णिमा’, किरात राई समुदायको उधौली

विवेश श्रेष्ठ, ओखलढुङ्गा मंशिर १७ ।
आज योमरी पूर्णिमा र उधौली पर्व । योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस दिनलाई ज्यापु दिवसका रूपमा समेत मनाउने गरिन्छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हि अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले करिब चार सय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको विशेष परिकारलाई चाकुसँगै खाने पर्वका रूपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

आजको दिन ज्यापु समुदायले काठमाडौको बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरि ज्यापु दिवस पनि मनाउदैछन् । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खानेरख्वाउने चलन छ । नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यो बौद्ध चैत्य दर्शनमा पनि आधारित छ ।

आइतबार आज मनाइने १४ औँ राष्ट्रिय ज्यापू दिवसमा दबूः दाफाखलःको आयोजनामा टेकूबाट भित्री सहर हुँदै वसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक र्या लीसहित सभा गर्ने कार्यक्रम छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आजका दिन किराँत समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको किराँत समुदायको संस्कृतिमा अध्ययनरत जानकारहरू बताउँछन् ।

प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवानका रूपमा मान्ने किराँत समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्छ, किराँत समुदायका राई, लिम्बु, सुनुवार र याक्खाले यो पर्व मनाउँछन् ।

बैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता रहेको छ । पूजापछि साकेला नाचिन्छ । नाचमा प्रकृतिमा भएका पशुपंक्षी मानव समुदायलाई आवश्यक पर्छ भनी नक्कल गर्ने प्रचलन छ ।