नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

उदयपुरमा शक्तिशाली एम्बुस बम पड्काउने कांग्रेस उम्मेदवारकै नातेदार

मंसिर १६, उदयपुर ।
प्रहरीले मुख्य योजनाकार भनेर पक्राउ गरेका उदयपुरगढी गाउँपालिका वडा ७ का बलबहादुर मगर र प्रदेशसभाका कांग्रेस उम्मेदवार भेषराज मगरको काका–भतिजको नाता रहेको खुलेको छ। नेपाली कांग्रेसका उम्मेदवारलाई लक्षित गरी उदयपुरगढी गाउँपालिका ६ स्थित दनुवारबेंसीमा एम्बुस थापेको आरोपमा पक्राउ परेका मगर नेपाली कांग्रेस प्रदेशसभाका उम्मेदवारका नातेदार रहेको खुलेको हाे । 

नाताले पक्राउ परेका बलबहादुरको भेषराज भतिज पर्छन् । स्रोतका अनुसार पक्राउ परेका बलबहादुरको भाउजू र भेषराजको आमा सहोदर दिदीबहिनी हुन् । नेपाली कांग्रेसका क्षेत्र नं. २ को प्रदेश सभा २ (क) का उम्मेदवार भेषराज मगरको सानीआमाको देवर हुन् बलबहादुर।

उता प्रहरीले बम आक्रमणका लागी योजनाकार भनेर सार्वजनिक गरे पनि उनी योजनाकार नरहेको नेपाली कांग्रेसले जनाएको छ । उनको घरमा विप्लव समूहका मान्छेहरु गएर खाए, बसे होलान् तर त्यसको आधारमा प्रहरीले प्रक्राउ गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बलबहादुरको घरमा प्रायः दिनमा बटुवा तथा पाहुना नआएको दिन नै हुँदैन ।

बुधबार बिहान उदयपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्ष्य गरेर दनुवारबेँसीको गाउँमा विद्युतीय एम्बुसमा परेर कार्कीसहित ७ जनाको टोली एम्बुसमा परेको थियो । एम्बुसमा परि उमेदवार कार्की र उनका स्वकीय सचिव मीरा कटुवाल, ओखलढुङ्गा लिखु गाँउपालिका घर भएका प्रहरी जवान कालिदाश श्रेष्ठ सहित ६ जना सख्त घाइते भएका थिए । घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

आक्रमणको मुख्य योजनाकार उनै हुन्, प्रहरी प्रमुख जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले बम आक्रमणकारीका योजनाकार रहेको दाबी गरेका छन् । ‘पक्राउ परेका मगर हाम्रो सूचनाअनुसार सबै बम आक्रमणका योजनाकार हुन्,’ एसपी भट्टले भने, ‘योजनाकार पक्राउ परेका हुन्, हामी ढुक्क छौँ।’

उदयपुरमा बम आक्रमण गरेको आरोपमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा उदयपुरका केही नेता तथा कार्यकर्ताहरुलाई पनि प्रहरीले पक्राउ गरि अनुन्धान गरिरहेको जनाएको छ । यसैगरी, माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हुँ भन्दै निर्वाचनविरोधी कृयाकलाप गर्ने हिमाल राई पनि पक्राउ परेका छन् ।