नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आज २९ औ विश्व एड्स दिवस, नेपालमा पनि मनाईदै

विवेश श्रेष्ठ, अाेखलढुङ्गा , मंशिर १५।

आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी एड्स दिवस मनाइदैछ । एक दशक अघिसम्म महामारीको रुप लिने गरेको एचआइभी संक्रमण नेपालमा घट्नुका साथै मृत्युदरमा समेत कमी आएको छ । सरकारले चेतनाको विस्तारले पछिल्लो नौं वर्षमा ८० प्रतिशतले नयाँ संक्रमणलाई घटाउन सफल भएको दावी गरेको हो ।

एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउने, एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ । आज विश्व एड्स दिवसका दिन एचआईभी संक्रमणले गर्दा मृत्यूभएका ति सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिकालागि दिप पनि प्रज्वलन गरिन्छ ।

हालसम्म नेपालमा एचआइभी संक्रमितहरुको पहिचान भएको संख्या १८ हजार ६ सय २६ पुगेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्ऽका अनुसार एचआइभी संक्रमितहरुको अनुमानित संख्या ५६ हजार पुगेको छ । विश्वमा भने सन २०१० सम्ममा २७ लाख मानिस एचआईभी एड्सबाट संक्रमित भएको र करिब १८ लाख मानिसले एड्सकै कारण ज्यान गुमाएको उल्लेख छ ।

सन् २००७ मा नेपालमा वर्षेनी करिव दुई हजार सय जना नयाँ मानिसमा एचआइभी संक्रमण पुष्टि हुने गरेको थियो भने हाल करिव एक हजार तीन सयलाई मात्रै संक्रमण पुष्टि हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

संक्रमित हुनेमा अहिले पनि पुरुष नै धेरै छन् । नेपालमा करिब ८५ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सर्ने गरेको पाइएको छ । सुईद्धारा लागू पदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिगीं तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि विदेश धाउनेहरु र कैदीहरु लगायतको समूहमा एचआइभी संक्रमणको दर पाँच प्रतिशत भन्दा बढी छ । तर सामान्य जनसंख्यामा एचआइभी संक्रमण दर एक प्रतिशत भन्दा कम छ ।

केन्द्रका निर्देशक तरुण पौडेलले जनचेतनाको विस्तार र परिक्षण सेवाले एचआइभी संक्रमण दर घटाउन सफल भएको बताए । उनका अनुसार सन् २०१० को तुलनामा हाल एक सय ४६ प्रतिशतले एचआईभी संक्रमितलाई गरिने उपचार पद्धति एन्ट्रि रेट्रो भाइरल (एआरभी) उपचारमा पहुँच बढेको छ ।

सरकारले मुलुकका विभिन्न दुई सय ६५ केन्द्रमा एचआइभी परिक्षणको व्यवस्था गरेको छ भने ६५ वटा एआरटी साइट सञ्चालनमा ल्याएको छ । यस्तै आमाबाट बच्चामा एचआइभी सक्रमण सर्नबाट रोक्न विभिन्न ५५ जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको पौडेलले बताए । एचआइभी संक्रमणको न्यूनीकरणमा नेपालले सह श्राब्दी विकास लक्ष्य हासिल गरिसकेको छ ।