नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

दुरी ५ किलोमिटर, भाडा १५ हजार

ओखलढुङ्गान्युज डटकम, मंसिर १५ ।

झट्ट सुन्दा सबैलाई अच्चम लाग्न सक्छ । के ५ किलोमिटर दूरीको सडकमा भाडा १५ हजार नै लाग्छ त ? मनमा आशंका उब्जन सक्छ, यो त कालो बजारी भएन र ? तर यहाँ यस्तै छ । ५ किलोमिटर सडकमा एक ट्याक्टर सामान ढुवानी गर्दा भाडा १५ हजार नै लाग्छ । यो तीतो यथार्थता हो । रामेछापको सैपुसिरीसे भन्ने स्थानवाट ओखलढुंगाको लिखु गाउँपालीका वडा नं. ६,७,८ र ९ मा एक ट्रयाक्टर सामान ढुवानी गर्न परे १५ हजार लाग्छ । त्यो पनि हिउँदमा मात्र हो ।  वर्षायामको सयममा त झन सडक नै ठप्प हुन्छ । 

सप्तकोशीको कान्छो अर्थात सानो नदी, लिखुनदीमा रहेको झोलुंगे पुलबाट वारिपारि समान ओसारपसार गरेर भारी बोक्ने मजदुरहरुले प्रतिकिलो एक रुपैयाँ पाउछन् । रामेछापको लिखु गाउँपालीकाको सैपुसिरीसेबाट ओखलढुंगाको लिखु गाउँपालीका जोड्ने सडकमा पर्ने लिखुनदीमा पक्की पुल नहुँदा भरियाले प्रतिकिलो एक रुपैयाँ लिने गरेका हुन् ।

 रामेछापको मन्थली र काठमाण्डौंबाट ओखलढुंगाका लागि आएको समान लिखु नदी तारेर ओखलढुङ्गा तर्फ पु¥यााएको प्रतिकिलो एक रुपैयाँ लिने गरेको भारी बोक्ने मजदुरहरु बताउँछन् । ‘नदीको वारिपारि दुवैतिर सडक सञ्जाल जोडिएको छ, झोलुंगे पुल मात्र भएकाले हामीले ज्यालास्वरुप प्रतिकिलो एक रुपैयाँ लिने गरेका छौँ ।’ भारी बोक्ने मजदुरीको काम गर्दै आउनु भएका लिखु गाउँपालीका ८ टारकेराबारीका रघु खड्काले भने । वारिपारि कच्ची सडक सञ्चालनमा भए पनि पक्की पुल नहुँदा भारी बोकेर मजदुरी गर्नेहरुलाई रोजगारी प्राप्त भएको छ । दैनिक रुपमा एकजनाले पाँच सयदेखी एकहजार पाँच सय सम्म सामान बोकेर कमाई गर्ने गरेको उनीहरु बताउँछन् ।

ओखलढुङ्गगा सदरमुकाम देखि पश्चिमी क्षेत्रमा पर्ने लिखुगाउँपालीकाको नजिकको बजार रामेछापको मन्थली, धोबी र सिरीसे पर्दछन् । ‘हामीलाई ओखलढुंगाका बजारबाट भन्दा रामेछापका बजारबाट समान खरिद गरेको सस्तो पर्छ,’ लिखु गाउँपालीका वडा नं. ६ मा खुद्रा पसलको व्यवसाय गर्ने यमुना बस्नेतले बताए । ‘लिखुनदीमा प्रतिकिलो एक रुपैया तिरेर वारी ल्याई पु¥याउँदा पनि यतिकै सामान महँगोमा ढुवानी गर्नुपर्छ ।’ बस्नेतका अनुसार सिरीसे बजारबाट गाम्नाङ्गटारसम्म जम्मा ५ किलोमिटर कच्ची सडक छ । हिउँदमा त केही सहज हुन्छ । तर बर्षायाममा ५ किलोमिटर बाटोमा १५ हजार ढुवानी मात्रै लाग्ने गरेको छ । 

रामेछाप र ओखलढुंगा जोड्ने सिरीसेमा रहेको लिखुनदीमा  ०६८ सालदेखि पुल बन्ने हल्ला थियो । ओखलढुंगाको लिखुगाउँपालीका वडा नं. ६,७,८ र ९ लगाएत साबिकका झण्डै एकदर्जन गाविसका सर्वसाधारण पुल बन्ने आशामा थिए । दुवैतिर सडक सञ्जाल जोेडिए पनि लिखुनदीमा पुल नहुँदा पाउने दुःख हटेन । ती कच्ची सडक बर्षायाममा बन्द हुने भए पनि हिउँदमा नियमित रुपमा सवारीसाधन चल्छन् ।

बर्षायाममा बन्द हुने र हिउँदमा चल्ने सडकलाई मर्मत सम्भार गर्ने र लिखुको पुल एक वर्षमा पुरा गर्ने रामेछाप तथा ओखलढुङ्गा दुवै जिल्लाका नेताहरुले चुनावको वेला नारा लगाए । गएको ०७३ पौषमा स्थानीय, पुलको ठेकेदारकम्पनी कन्काई ओमबुद्ध जेभिका प्रतिनिधि, सडक डीभिजन कार्यालय खुर्कोटका कार्यालय प्रमुख र सरोकारवाला सबैलाई ६ महिनामा पुलनिर्माण गरीसक्न ताकेता दिईएको थियो ।

तर पुलको काममा अहिले सम्म केही प्रगती भएन । २०६८ सालमा दुई वर्ष मै  लिखु नदिमा पुल सक्ने गरी  संझौता भएको थियो । तर २०७४ को मंसिर बिति सक्न लाग्दा पुलको जग मात्र पनि उठि सकेको छैन । त्यती बेला पुल निर्माण सम्पन्न नगरी जनतासँग नआउने भनी पुर्व साँसद रामहरी खतिवडाले प्रतिबद्धता ब्यक्त गरेपनि पुनः लिखुनदीको सिरीसेपुलको काम गर्नकालागी ठेकेदार कम्पनीलाई १ वर्ष म्याद समेत थपीएको छ । पुलको निर्माण कार्यमा ढिलाई भए पछि ओखलढुंगा र रामेछापका हजारौ नागरीकहरु समस्यामा परी रहेका छन् ।