नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

अरिङ्गालको टोकाईबाट ओखलढुंगामा ९ महिने बालकको मृत्यु, तिनजनाको अवस्था गम्भिर

ओखलढुङ्गान्युज डटकम, कात्तिक १६ ओखलढुंगा ।

ओखलढुंगामा अरिङ्गालको टोकाईबाट एक बालकको मृत्यु भएको छ । अरिङ्गालको टोकाईवाट अन्य तिन जना घाईते भएका छन् । मृत्यु हुनेमा मोलुङ गाउपालिका ८ रागाँदीपका पवित्रा राईको ९ महिने छोरा अडिट राई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

बिहिबार दिउसो आफ्नै घरमा आरिङ्गालले टोक्दा ३१ बर्षिय आमा पवित्रा राई र उनका दुई छोरीहरु पुजा र अन्जु सिकिस्तै भएका छन् । पुजा ११ वर्षकी र अञ्जु ५ वर्षकी बालिका हुन् । उनिहरुलाई तत्कालै हेलिकप्टर चार्टर गरी उपचारका लागी काठमाण्डौ पठाईएको छ ।

घरको छेवैमा अरिङ्गालको गोला रहेको र दिउसोपख बच्चाहरु खेलीरहेको अवस्थामा एक्कासी आएर टोकेको राईको परिवारले बताएका छन् । बच्चाहरु खेलीरहेको ठाउमा नै आएर अरिंगालले टोकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक टिका कार्कीले बताए ।

बच्चाको तत्कालै मृत्यु भएको र अरिंगालले टोकेका अरुको ओखलढुङ्गामा नै उपचार हुने सम्भावना नदेखिएपछि हेलिकप्टर मार्फत उनीहरुलाई काठमाण्डौ पठाईएको हो । अरिङ्गालको टोकाईबाट घाईते भएका तिनै जनाको अवस्था गम्भिर छ ।