नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

अपडेट : दुर्घटनामा बाचेकी बालिका बाबुको जिम्मा लगाईयो

ओखलढुङ्गान्युज डटकम, कात्तिक १५ ।
गत शोमबार उदयपुर(सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डको लेखानीमा भएको सुमो जीप दुर्घटना बाचेकी एक बालिकालाई आफन्तको जिम्मा लगाईएको छ । उदयपुरको कटारीवाट ओखलढुङ्गा आउने क्रममा उदयपुरको ठाटी भन्ने स्थानमा टाटा सुमो जिप दुर्घटनामा परेको थियो । दुर्घटना भएको जिपमा सवार ९ जनाको मृत्यु भएको थियो भने एकजना गम्भिर घाईतेको काठमाण्डौमा उपचार भै रहेको छ । जिपमा रहेकी एक बालिकालाई भने सकुशल उद्दार गरिएको थियो । घटनामा परि मृत्यु भएको मृतक नौ जनाकै सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय कटारी, उदयपुरका का प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठका अनुसार सनाखत भएका मृतकहरुमा ओखलढुंगा चिसंखुगडी गाउँपालिका ७ शेर्नाका अन्दाजी ३२ बर्षिय इश्वर भट्टराई, सोही ठाउँकी अन्दाजी २४ बर्षिया अन्जना राई, ओखलढुङ्गा मोलुङ गाँउपालिका २ बरुणेश्वरका १९ बर्षिय दिपक भित्रीकोटी, समशेरदल गण ओखलढुंगामा नेपाली सेनामा कार्यरत सप्तरी बैखा ६ का रुपेन्द्र बर्मा रहेका छन् ।

त्यस्तै, ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउपालिका ४, फेदिगुठका शिक्षक एवम् सप्तरी जिल्लाको कबलासी ३ का गंगाराम साह, सोही जिल्ला पत्थरगाडा ४ का राधेश्याम महतो, सप्तरीकै मिथिलेस साह, उदयपुरको बेलका नगरपालिका ३ का सन्देश किराती राई र कटारी नगरपालिका २ का चालक हरि कार्की रहेका छन् ।

दुर्घटनामा गम्भिर घाइते ओखलढुंगाको मोलुङ गाँउपालिका २ बरुणेश्वरका १८ बर्षिया कुमारी भित्रीकोटीको केएमसी हस्पिटल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरिक्षक डिएसपी श्रेष्ठका अनुसार दुर्घटनाको क्रममा भिरको बुट्टामा अल्झिएर बचेकी ओखलढुंगाकी ३ बर्षिय बालिका क्रिस्टिना राईलाई बुबाको जिम्मा दिइएको छ । उनी मृतक अन्जना राईकी छोरी हुन् ।

मृतक सबैको शब कटारी हस्पिटलमा ल्याएर पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमपछि सम्पर्कमा आएका मृतकका आफन्तजनलाई सब जिम्मा दिइने प्रहरीले जनाएको छ । घाइते तथा मृतकको शोमबार राती अबेरसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले उद्धार गरेका थिए ।

कटारीदेखि ओखलढुंगातर्फ जादै गरेको ना १ ज ३४०४ नम्बरको टाटासुमो उदयपुरको कटारी नगरपालिका – ११ लेखानी गाउँको ठाटी भन्ने ठाउँमा दुर्घटना भएको थियो । लेखानीको ठाटीको ओ¥हालोमा अगाडी रहेको ओखलढुङ्गा तर्फ आउदै गरेको बसलाई ओभरटेक गरेर अगाडी आउदै गर्दा चालकले स्पीड कन्ट्रोल गर्न नसकी दुर्घटनामा परेको हुन सक्ने प्रत्यक्ष दर्शीले बताएका छन् । तर भिरालो सडकमा जीपको ब्रेक र स्टेरिङ फेल भएर दुर्घटना भएको बुझिएको कटारी ट्राफिक इन्चार्ज डिवि दियालीले बताउएका छन् ।

सुमो सडकबाट करिब ५ सय मिटर तल भिरमा खसेको जनाइएको छ । उक्त राजमार्गमा सडक भिरालो, साँघुरो र घुमाउरोका साथै भत्किएर नाजुक अवस्था रहेको छ । त्यसै स्थानमा बर्षेनी हुने सवारी दुर्घटनाका कारण सयौले ज्यान गुमाई सकेका छन् ।