नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

उदयपुरको ठाडीमा जिप दुर्घटना,  मृत्यु भएका ९ मध्ये सैनिक जवानसहित ७ को सनाखत

ओखलढुङ्गान्युज डटकम, कात्तिक १४, कटारी

कटारीबाट ओखलढुंगातर्फ आउदै गरेको ना १ ज ३४०४ नम्बरको जिप दुर्घटना हुदा ९ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये एक जना नेपाली सेनाको जवानसमेत गरी ७ जनाको सनाखत भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डमा रहेको उदयपुरको कटारी नगरपालिका ११ लेखानीको ठाडी भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

 

दुर्घटनामा परेका ८ जना यात्रुको घटनास्थलमा नै ज्यान गएको हो । जिपका चालक कटारी नगरपालिका २ का २८ बर्षीय हरि कार्कीको भने उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपाली सेनाको अमरदल गण सोलुखुम्बुमा सिपाही पदमा कार्यरत सप्तरी वैखा ६ का रुपेन्द्र वुर्जा, उदयपुरको रामपुर ठोक्सिलाका सन्देश किराँती, ओखलढुंगां चिशंखुगढी गाँउपालिका ५ सेर्नाका ईश्वरप्रसाद भट्टराई रहेका छन् ।

त्यस्तै सप्तरी कविलास ३ का गंगाराम साह, सप्तरी वयरगाडा ४ का राधेश्याम महत्तो, ठेगाना नखुलेका सविता राई रहेका छन् । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको छ । मृतकको उमेर र केहीको जिल्ला खुले पनि अन्य ठेगाना खुल्न नसकेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परि ओखलढुगांकी अन्जना राई गम्भिर घाईते भएकी छन् । राईको कटारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

चालकसहित ११ जना सवार उक्त जिपमा तीन बर्षीय एक बालकलाई भने स्थानीयले सकुशल उद्धार गरेका थिए । जिप सडकबाट करिव ५ सय मिटर तल भिरमा खसेको छ । भिरमा रहेको शवलाई प्रहरीले ३ घण्टा लगाएर सडकमा निकालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

उकालोमा तान्न नसकी जिप ब्याक हुँदा भिरवाट खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनास्थल कटारी बजारबाट ३५ किलोमिटर उत्तरी भेगको कच्ची सडकमा पर्छ । दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीका डिएसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको एसपी भट्टले जानकारी दिए ।

सिद्धिचरण लोकमार्ग अन्तर्गत रहेको लेखानी, ठाडी यात्राको हिसाबले उदयपुरको सबैभन्दा असुरक्षित सडकको रुपमा मानिन्छ । यस सडकखण्डमा बर्षेनी सवारी दुर्घटना हुँदा एक दर्जन बढीको मृत्यु हुने छ । कच्ची सडक, त्यसमा पनि क्षमताभन्दा बढी यात्रु चढाउने, चालकले लापरवाही ढंगले ओभर स्पिड चलाउने र सडकको अवस्था पनि नाजुक भएका कारण बर्षेनी दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ।