नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

हातमा शिप त छ नि, तर बाँसको के काम

ओखलढुङ्गान्युज डटकम, असोज १४ ओखलढुङ्गा ।

हातमा शिप भएर पनि ओखलढुङ्गाका अधिकाँश भु–भागमा पर्याप्त मात्रमा पाईने बाँसको सदुपयोग भएको छैन । बजार नहुँदा प्रविधि र सिपको सदुपयोग हुन नसकेर यहाँको बाँस सदुपयोग हुन नसकेको हो । आफ्नो गुजाराकालागी पुर्खाले लगाएको बाँस पशुलाई घाँस र खाना बनाउन दाउराका लागी मात्र प्रयोग गरीदै आईएको छ ।

बाँसबाट बहुमुल्य र आकर्षक सामाग्री निर्माण गरी गर्न सकिने भए पनि ओखलढुंगाका बाँस घरेलु उपयोगका लागी चित्रा, भकारी डोको फुङ्लो मात्रै बनिने गरेको लिखु गाउँपालिका ६ गाम्नाङ्गटारका प्रकाश पौडेलको भनाई छ । आँफुले वर्षको एक पटक कार्तिक–मंसीरमा केही चित्रा भकारी बनेर थोरै आम्दानी गर्ने गरेको अनुभव सुनाउदै भन्छन्, “मैलै वर्षमा एक पटक २० देखी ३० ओटा भकारी बुनेर प्रतिगोटा २५० रुपैयाँमा बेच्ने गरेको र असार साउनमा  केही डोका बनेर बेच्ने गरेको छु ।”

आफुले सिकेको सिपबाट नयाँ नयाँ सामान बनाउने धोको युवाहरुमा भए पनि बाँसबाट आफुले बनाएका सामानले बजार नपाँउदा सिप सिकेका युवाहरु पनि केही गरौं भनेर पनि चुपचाप बस्नु पर्ने बाध्यता छ । बाँसबाट घर सजावटका लागी बिभिन्न समाग्री निर्माण गरी राम्रो आम्दानी गर्न सकिने आफुलाई थाहा भएपनि कहि कतैबाट तालीमको अवसर नपाएकोे खिजीदेम्वा गाउँपालीका १ का कृष्णमोहन गौतमको गुनासो छ ।

केही वर्ष अघि आफुले बाँस सम्बन्धि तालीम पाएपनि आफुले उत्पादन गरेका बाँसका सामाग्रीले बजार नपाउँदा आफुले यो पेशा आफ्नो ब्याबहार धान्नकालागी मात्रै गर्ने गरेको लिखुगाँउपालीका ६ गाम्नाङ्गटारका तुम्वल बहादुर पुलामी मगरको दुखेसो छ । आफुले बनाएका बाँसकोजरा र चोया बाट बनेका बिभिन्न सजावटका समाग्रीहरुले बजार नपाउँदा घरमै थन्काएर राखेको कति सामान बच्चाले खेलौनाको रुपमा प्रयोग गरेको , कति सामान त दाउरा कै लागी प्रयोग गरी सकेको र अब त बनाउन पनि छाडेको मगरले बताउनु भयो ।

लिखु क्षेत्रकै पर्याप्त मात्रामा बास पाईने र गाम्नाङ्गटारको बाँस भनेर चिनीने भए पनि हामीले दुई तिन पटक तालीम लिएर पनि केही गर्न सकेनौ । तीन पटक बेतबाँस सम्बन्धि तालीम लिनु भएका गाम्नाङ्गटारका कृष्ण कुमार भुजेलले बताए । शिप पनि छ तर बजार छैन हातमा सिप भएर पनि गाँउभरी सबैको ३ देखी १० रोपनी जमिनमा बाँस छ, हातमा सिप छ, तर बजार नभए पछि बाँसको सदुपयोग हुन सकेन भुजेलले बाँस सदुपयोग नहुँदा चिन्ता ब्यक्त गरे । बाँसबाट निर्माण गरेका घर सजावटका समाग्री देखी बस्ने मुढा, कुर्ची, टेबल, मिष्टिन, फ्रेम, झ्याल ढोकामा लगाईने रिङ पार्दा लगायतका सामाग्रीले बजार नपाएको उनले दुखेसो गरे ।

बाँसको उचित प्रयोगका लागी प्रबिधिको सदुपयोग हुन सके बाँसबाट मनग्गे आम्दानी हुने र अनावश्यक बाँस फडानी समेत रोकीने  जिल्ला बन कार्यालय ओखलढुंगाका फरेष्टर सुशान्त पोख्रेलले बताउनु भयो । पाखा र खोल्सीहरुको भु—क्षय नियन्त्रण गर्न र पशुलाई घाँसको ब्यबस्था गरी आफ्नो आबश्यकता टार्नका लागी लगाईएको बाँस लगाउने गरेको भए पनि बाँसलाई सिप र प्रबिधिको सहि सदुपयोग भएको खण्डमा राम्रो आम्दानीको श्रोत बन्ने पाख्रेलको भनाई छ । निजी जमिनमा पर्याप्त मात्रामा पाईने भएपनि भु–सम्रक्षणकालागी जिल्लाका बिभिन्न सामुदायीक बनहरुले समेत बनमा बाँसका बिरुवा लगाई रहेका छन् ।

जिल्लामा मात्रै यो समस्या भने कदापी हैन । युवा लक्षित गरेर विभिन्न संघ–संस्थाहरुले बाँसको उपयोगिता र निर्माण गर्न सकिने सामाग्री सम्बन्धि तालीम सञ्चालन समेत गरिसकेका छन् । यसरी तालिम लिएर गाउँमै बसेका युवाहरुबाट निर्मीत सामानले उचित मुल्य र बजार पाए युवाहरु प्रोत्साहित हुने थिए । युवाहरुलाई प्रोत्साहन दिने हो भने बैदेशीक रोजगारका निम्ति बिदेशीने क्रम समेत रोकीने थियो ।

 

 

मनोज भट्टराईको सहयोगमा ।