नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

युवा संघ र वाइसीएलले बनाए स‌युक्त निर्वाचन परिचालन समिति

ओखलढुङ्गान्युज डटकम, कात्तिक १०, काठमाण्डाै
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि युवा संघ नेपाल र वाइसीएलले जम्बो निर्वाचन परिचालन समिति बनाएको छ । निर्वाचन परिचालनका लागि युवा शक्तिको आवश्यकता भन्दै तीन हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । जसमा दुवै संगठनका अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी, सदस्य, केन्द्रीय आयोगका प्रमुख तथा सदस्य, प्रदेशका सदस्य, जिल्ला अध्यक्षहरु रहेका छन् ।

बैठकले दुवै संगठनका पदाधिकारीहरु रहेको ११ सदस्यीय शीर्ष संयोजन समिति समेत बनाएको छ । निर्वाचन परिचालन समिती अन्तर्गत शीर्ष संयोजन समितिको अध्यक्षता दुवै संगठनका अध्यक्षहरुले पालैपालो गर्ने शुक्रबार युवा संघ र वाइसीएलले संयुक्त विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

यस्तै बैठकले दुवै संगठनको तर्फबाट प्रदेशमा प्रदेश इञ्चार्ज वा प्रमुखको नेतृत्वमा, जिल्लामा जिल्ला अध्यक्ष र संयोजकको अध्यक्षतामा जिल्ला स्तरीय परिचालन समिति बनाउने निर्णय गरेको छ । जिल्ला मातहतमा भने जिल्ला कमिटीले सल्लाह गरी संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरी परिचालन गर्ने पनि निर्णय गरेको छ ।

यसैगरी बैठकले प्रदेश र जिल्ला लगायतका सम्पूर्ण मातहत कमिटीहरुमा यही कात्तिक १५ गतेभित्र संयुक्त बैठक बसी युवा परिचालनको योजना निर्माण गरिसक्ने निर्णय गरेको छ।

निर्वाचन अवधिभर रहनेगरी एक संयुक्त कार्यालय युवा संघको कार्यालय बुद्धनगरमा स्थापना गर्ने निर्णय गर्दै बैठकले निर्वाचन परिचालन सम्बन्धी बाँकी कामहरु ११ सदस्यीय शीर्ष संयोजन समितिले सम्पादन गर्ने निर्णय समेत गरेको बैठकपछि युवा संघका अध्यक्ष राजीव पहारी र वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।