नेपाली समय Loading...२०८२ बैशाख ६ शनिबार

प्रत्यक्षको मतपत्रमा जुन पार्टीको उम्मेदवार हो उसको मात्रै चुनाव चिन्ह हुने

ओखलढुङ्गान्युज डटकम कात्तिक १०, ओखलढुङ्गा

गत स्थानीय तहको निर्वाचनमा बदरमतको सख्या बढि भएको भन्दै आगामी मंशीर १० र २१ गते हुने निर्वाचनमा निर्वाचन आयोगले मतपत्रमा नै सुधार गरेको छ । सुधार गरेको मतपत्रमा प्रत्यक्ष तर्फ जुन पार्टीको उमेदवार हो सो पार्टीको उमेद्वारको मात्रै चुनाव चिन्ह हुने व्यबस्था गरेको छ ।

                                                                              नमुना मतपत्र

गत स्थानीय तहको चुनावमा दलहरुले तालमेल त गरे तर, उम्मेदवार नै नभएका दलको पनि चुनाव चिन्ह मतपत्रमा रहृयो । यही कारण बदर मत निकै रहृयो । त्यसैले यस्तो मतलाई बदर हुनवाट कम गराउन निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा चुनावमा भने मतपत्रमा नै सुधार गरेको हो ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ जुनजुन दलले उम्मेदवारी दिन्छन्, मतपत्रमा उनीहरुको मात्र चुनाव चिन्ह हुन्छ । आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘उम्मेदवार नभएका दलको चुनाव चिन्ह प्रत्यक्षतर्फको मतपत्रमा हुने छैन । जुन दलको उम्मेदवार छन्, उसको मात्र चुनाव चिन्ह रहनेछ ।’

उदाहरणका लागि ओखलढुङ्गा क्षेत्र नम्बर २ मा वामपन्थी गठबन्धनबाट प्रदेशसभामा ओखलढुङ्गा ख मा माओवादी केन्द्रका मोहन खड्का हिमशिखर उम्मेदवार छन् भने क मा एमालेका अमिरबाबु गुरुङ छन् । अब मतपत्र छाप्दा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्रमा क मा माओवादीको गोलाकारभित्रको हँसिया हथौडा र ख मा एमालेको सुर्य चिन्ह रहने छैनन् । यसले मतदाता झुक्किने छैनन् ।

उम्मेदवार नभएको पार्टीको चुनाव चिन्ह पनि मतपत्रमा राख्दा धेरै मतदाताले झुक्किएर आफ्नो परम्परागत पार्टीको चिन्हमा मत दिने र उक्त मत बदर हुने सम्भावना थियो । तर, आयोगको यो व्यवस्थाले मत बदरको प्रतिशत घटाउन सक्नेछ । समानुपातिकतर्फ भने आयोगमा दर्ता भएका र बन्द सूची बुझाएका सबै दलको चिन्ह रहनेछ ।