नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

४ सय लिटर अबैध मदिरा नष्ट

ओखलढुङ्गान्युज डटकम, कात्तिक १०, ओखलढुङ्गा ।

ओखलढुङ्गा प्रहरीले बजारमा अबैध रुपमा बेचबिखनका लागी ल्याउदै गरेको ४ सय लिटर मदिरा नष्ट गरेको छ । सिद्धिचरण नगरपालिका अन्तर्गत कै वडा नं. ४ बर्णालुको शुक्रबारे हटियामा छिमेकी गाँउवाट ल्याउदै गरेको अबैध घरेलु मदिरा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आज नष्ट गरेको हो । विशेष सुचनाको आधारमा रुम्जाटार विमानस्थल सुरक्षा गार्ड प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले बजार ल्याईदै गरेको मदिरा शुक्रवार विहान नियन्त्रणमा लिएको थियो ।

चाडवाडको समयमा चुपचाप रहेको प्रहरी संघिय प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा घरेलु मदिरा नियन्त्रणमा सक्रिय रुपमा लागि परेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले भने घरेलु मदिरा नियन्त्रण अभियानमा प्रहरी सदैब लागी परिरहेको बताएको छ ।

विगत केही महिना अगाडी प्रहरी कार्यालयले घरेलु मदिरा सगै घरेलु मदिरा निर्माणमा प्रयोग हुने कच्चा पदार्थ समेत नियन्त्रणमा लिइ नष्ट गरेको थियो । त्यसपछि चुपचाप बसेको प्रहरीले फेरी घरेलु मदिरा नियन्त्रण कार्यमा सक्रियता देखाउन थालेको हो । विहिबार पनि प्रहरीले सदरमुकाम आसपासवाट ४० लिटर अबैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको थियो ।

मदिरा सेवनका कारण गाँउघरमा पटकपटक विवाद र झैझगडा हुदै आएको छ । घरेलु मदिराको उत्पादन र बेचबिखनलाई नियन्त्रण गर्न सके समाजमा रहेको धेरैजसो स्थानीय घटनाहरुलाई कमगर्न सकिन्छ ।