नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

भूगर्भ विभाग पनि तिन छक्क, किन तात्यो स्वयम्भुमा ढुंगा

ओखलढुङ्गान्युज डटकम, कात्तिक ९, काठमाडौं ।

चर्चाको विषयमा रहेको स्वयम्भुको ढुङ्गो तातेको घटनामा भूगर्भ विभाग आफै छक्क परेको छ । तातेको ढुङ्गाको वरिपरी भूगर्भ विभागको टोलीले मंगलवार विद्युतिय मेशीन प्रयोग गरि परिक्षण गरेको थियो । अनुमानका आधारमा गरिएको परिक्षणवाट केही पत्ता नलागे पछि टोली तिनछक्क परेको हो ।

केही समय अगाडी देखी स्वयम्भुको महाचैत्य परिसरमा एउटा ढुंगा अस्वभाविक रुपमा तातेको छ । भुईंमा छापिएको ढुंगामा अस्वभाविक तातो आएपछि अहिले यसको बारेमा अनेकन चर्चा र अड्कलबाजी भइरहेको छ । तातेको ढुङ्गो हेर्न जानेहरुको अहिले स्वयम्भुको महाचैत्य परिसरमा बाक्लो उपस्थिती हुन थालेको छ ।

तातेको सो ढुंगालाई छोएर प्रत्यक्ष अनुभव गर्नेहरुको भीड लाग्ने गरेको छ । धेरैले यसलाई दैवीशक्तिसँग जोडेर चर्चा गरिरहेका छन् । किन एउटा मात्रै ढुंगा तात्यो भन्ने प्रश्न सबैको छ । मंगलबार खानी तथा भूगर्भ विभागको टोली नै ढुंगा तात्नुको रहस्य पत्ता लगाउन स्वयम्भु पुग्यो ।

भूगर्भ विभागका उपसचिव सुरेस श्रेष्ठको नेतृत्वमा गएको टोलीले ‘ग्राउन्ड पेनिट्रेटिङ रडार’ लगाएर जाँच गर्यो । जमिनमुनि के भइहरेको छ भनेर अध्ययन गर्न यो रडार प्रयोग हुन्छ । विभागले त्यहाँ कुनै इलेक्ट्रिक ‘सर्ट सर्किट’ भएको हुनसक्ने अनुमान गरेको थियो ।

तर, परीक्षणमा भने रडारले त्यहाँ कुनै ‘सर्ट सर्किट’ भएको देखाएन । जसका कारण ढुंगा तात्नुको रहस्य अझै गर्भमै रह्यो । “हामीसँग भएको रडारले त्यहाँ कुनै संकेत देखाएन । अब के भएको हो भन्ने बुझ्न उत्खनन नै गर्नुपर्छ” उपसचिव श्रेष्ठले भन्नुभयो,“एक दिन सो क्षेत्रको विजुली कटाएर पनि जाँच गर्न सकिन्छ । छलफल गर्दैछौं ।”

पुरतात्विक महत्वको क्षेत्र भएकाले उत्खनन गर्न पुरातत्व विभागको स्वीकृति चाहिन्छ । स्वयम्भुको अनन्तपुर र महाचैत्यको बीचमा तातेको ढुंगालाई इटाले घेरिएर राखिएको छ । स्वयम्भुमा अहिले भूकम्पपछिको पुनर्निर्माणको काम चलिरहेको छ ।