नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

विशंखेले बेचे तिहारमा २ लाखको मादल  

ओखलढुङ्गान्युज डटकम,कात्तिक ९ उदयपुर ।

उनको घर त्रियुगा नगरपालिका २ खैजनपुर हो । नाम भेषबहादुर विसंखे । उनको ७ छोरी, १ छोरा र आमासहित ११ जनाको परिवार छ । नेपाली युवाहरु विदेश पलायन भै रहेको समयमा विशंखेले भने नेपालमा मै बसेर राम्रो आम्दानी गरेका छन् । परिवारको खर्च कटाएर उनले मादल बनाएकै रकमले पक्की घर समेत बनाएका छन् । उनले यसवर्षको तिहारमा मात्रै मादल बिक्री गरेर दुई लाख रुपैयाँ कमाएका छन् ।

मादल बिक्रीको मुख्य सिजन मानिने तिहारमा उनले विभिन्न प्रकारका धुन बज्ने मादल गत वर्ष भन्दा बढी नै बिक्री गरे । पूर्वी नेपालमा बसोबास गर्ने विभिन्न जातजातिले प्रयोग गर्ने ढोल, ढ्याङ्ग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फु लगायतका बाजा बढी बिक्री भएको विसंखेले बताए ।

भेषबहादुरले रोजगारीको लागि भारतको पटना जाँदा मादल, ढोल, ढ्याङ्ग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फु बनाउन सिकेका थिए । स्थानीय सामानहरुको प्रयोग गरेर बाजा बनाउने गरेको उनले बताए । उनले बार्षिक रुपमा २ सय थान मादल र ढोल, ढ्याङ्ग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फु लगायतका बाजा गरी ६० थान बिक्री गर्ने गरेको बताए ।

नेपाली बजारमा स्थानीय रुपमा उत्पादन गरिएको मादलको प्रतिगोटा २ हजार देखी १५ हजार सम्म पर्छ । तर उनले प्रतिगोटा २ हजारदेखि ५ हजार रुपैयाँसम्ममा मादल बिक्री गर्ने गरेका छन् । वार्षिक रुपमा मादल बनाएरै दुईदेखि चार लाख कमाउने विसंखेले यसवर्षदेखि मामा बिर्खबहादुर मोदेलाई समेत रोजगारी दिए । आफु एक्लैले काम नभ्याएपछि मासिक १७ हजार भन्दा माथि दिने शर्तमा मामा मोदेलाई राखेको पनि उनले बताए ।

बाँस, काठ र छालाबाट बनाइने ढोल, ढ्याङग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फु र मादलको माग बढ्दो छ। ‘सबै सामान ठिक्क रहेको अवस्थामा दैनिक ६ ओटा बनाउन सकिन्छ,’ विसंखेले भने, ‘ढोल, ढ्याङ्ग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फुलाई झन धेरै दिन लाग्छ। उनका अनुसार प्रयोग गरिएको कच्चापदार्थको मूल्य जोडेर मात्र ढोल, ढ्याङ्ग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फुको मुल्य तोकिन्छ । यसवर्ष २ लाख कमाएका विशंखेको अर्को वर्ष भने ५ लाख कमाउने लक्ष छ । लक्ष्य अनुसार काम गरिरहेको पनि उनले वताए ।