नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुंगामा वाम गठबन्धनको चुनावी कार्यक्रम सार्वजनिक

ओखलढुङ्गान्युज डटकम कार्तिक ७, ओखलढुंगा ।

आगामी मंसिर १० मा हुने संघीय र प्रदेश प्रतिनिधी सभाको निर्वाचन प्रयोजनका लागि ओखलढुंगाको वाम गठबन्धनले निर्वाचनका कार्यक्रम तालिका सार्वजनिक गरेको छ । आज ओखलढुङ्गामा पत्रकार सम्मेलन गरी संयुक्त वाम गठबन्धनले कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।

दरमुकाम ओखलढुंगामा मंगबार पत्रकार सम्मेलन आयोजना गरेर निर्वाचन परिचालन र व्यवस्थापनका लागि गठबन्धनले गरेको तयारी र निर्णयका बारेमा जानकारी गराएको हो । कात्तिक ६ गते बसेको बैठकले गठबन्धनमा आबद्ध दल (नेकपा एमाले र माओवादी केन्द्र) का  नेताहरु रहनेगरी गाउँपालिका र नगरपालिकामा निर्वाचन परिचालन कमिटी, क्षेत्रीय स्तरमा प्रदेश सभा निर्वाचन परिचालन कमिटी र जिल्ला स्तरमा संघीय निर्वाचन परिचालन कमिटी  घोषणा गरेको छ । गठबन्धनले निर्वाचनलाई व्यवस्थित र सहकार्यलाई मजबुद बनाउन शीर्ष नेताहरु रहेको अनुगमन तथा निर्देशन समिति समेत गठन गरेका छन् ।

गठबन्धनले ओखलढुंगाका सात गाउँपालिका र एक नगरपालिकामा निर्वाचन परिचालन तथा व्यवस्थापनमा नेता कार्यकर्ताहरुलाई जिम्मेवारी तोकेको छ । जिम्मेवारी पाएका नेताहरुको अगुवाइमा बृहद भेला आयोजना गरेर विभिन्न उप समिति गठन गर्न र चुनावमा प्रतिपक्षीको शसक्त सामना गर्ने नीति अख्तियारी गरेको छ । वाम गठनबन्धन बनेपछि ओखलढुंगाका कम्युनिष्ट कार्यकर्ताहरु उत्साहित बनेका छन् भने उम्मेदवार तथा नेताहरु चुनाव जितिनेमा ढुक्क देखिएका छन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बाम गठबन्धनबाट संघीय प्रतिनिधी सभाको सदस्य पदका उम्मेदवार एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवारले वाम गठबन्धनले ओखलढुंगाका तीनओटै क्षेत्र अत्याधिक मत अन्तरले जित्ने दावी गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनको मत परिणाम ओखलढुंगामा काँग्रेसको भन्दा ६ हजार बढी वाम गठबन्धनको रहेको छ । त्यसैले पनि धेरैले काँग्रेसको गढ भनेर चिनिएको ओखलढुङ्गामा वामपन्थीहरुहले जित्ने आकलन गरेका छन् । तटस्थ मतदाताहरु समेत प्रगतिशिल गठबन्धनमा आकर्षित भएकाले तीनै जना उम्मेदवार सात हजारभन्दा बढी मतान्तर जित्ने सुनुवारले दावी गर्नुभएको छ ।

उहाँले सत्तामा रहेर कांग्रेसले ओखलढुङ्गामा समृद्धिभन्दा बिकृति भित्र्याएको तथा वाम गठबन्धनले सुन्दर शान्त र समृद्ध ओखलढुंगा बनाउने उद्घोष गरेकाले समृद्ध ओखलढुङ्गा बनाउन गठबन्धनले जित्नै पर्ने दावी गर्नुभयो । गठबन्धनका तर्फबाट प्रदेश क मा अम्बिरबाबु गुरुङ, ख मा मोहनकुमार खड्का हिमशिखरले उमेदवारी दर्ता गराएका छन् ।

नेताहरु पेशल खतिवडा, रामहरि कार्की, बाबुराम गौतम, मोहनकुमा श्रेष्ठ, नेत्रप्रसाद भट्टराई, हर्कबोल राई सिताराम गुरुङ लगायतका नेताहरुले वाम गठबन्धन ओखलढुंगाको समृद्धि र विकासको संवाहक भएकाले गठबन्धनका सबै उम्मेदवाहरुलाई मतदाता गर्न मतदाताहरुसग अपिल गरका छन् ।

गठबन्धनले कार्यक्रम तालिकासमेत सार्वजनिक गरेको विज्ञप्तीमा नेपाली कांग्रेसले ओखलढुंगामा धेरै पटक जित्दा  काँग्रेसको शासनकालमा मौलाएको भ्रष्टाचार, विसंगति र सामाजिक कु संस्कारको अन्त्य गर्दै सामाजिक न्याय र समानता सहितको सुन्दर, शान्त र समृद्ध ओखलढुङ्गा निर्माण गर्ने अभियानमा वाम गठबन्धन रहेकाले गठबन्धनका साझा उम्मेदवाहरु संघीय प्रतिनिधी सभामा यज्ञराज सुनुवार र प्रदेश प्रतिनिधी सभा क्षेत्र नं. १ मा अम्बिरबाबु गुरुङलाई सूर्य चिन्ह तथा क्षेत्र नं. २ मा मोहनकुमार खड्का (हिमशिखर) लाई गोलाकारभित्रको हसिया हथौडामा मतदान गर्न सम्पूर्ण जिल्लाबासी न्यायप्रेमी मतदाताहरुलाई अपिल समेत गरेको छ । विज्ञप्तिमा मोहनकुमार श्रेष्ठ र बाबुराम गौतमले हस्ताक्षर गर्नुभएको छ ।